श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः– षड्विंशोऽध्यायः
श्रीभगवानुवाच –
(अनुष्टुप) अथ ते सम्प्रवक्ष्यामि तत्त्वानां लक्षणं पृथक् ।
यद्विदित्वा विमुच्येत पुरुषः प्राकृतैर्गुणैः ॥ १ ॥
नेपाली भावानुवादः भगवान्ले भन्नुभयो— माताजी! अब म हजुरलाई प्रकृति आदि सबै तत्त्वहरूको लक्षण भिन्न-भिन्न गरी बताउँछु, जसलाई जानेर मानिसहरू प्रकृतिका गुणहरूबाट मुक्त हुन्छन् ।।१।।
ज्ञानं निःश्रेयसार्थाय पुरुषस्यात्मदर्शनम् ।
यदाहुर्वर्णये तत्ते हृदयग्रन्थिभेदनम् ॥ २ ॥
नेपाली भावानुवादः आत्मदर्शन गराउने ज्ञान नै पुरुषको मोक्षको कारण हो। त्यसले अहङ्काररूपी हृदयको गाँठोलाई काटिदिन्छ भनी विद्वान्हरू भन्दछन्। अब म हजुरलाई त्यही ज्ञानका बारेमा बताउँछु, सुन्नुहोस् ।।२।।
अनादिरात्मा पुरुषो निर्गुणः प्रकृतेः परः ।
प्रत्यग्धामा स्वयंज्योतिः विश्वं येन समन्वितम् ॥ ३ ॥
नेपाली भावानुवादः यो सारा जगत् जसमा व्याप्त भएर प्रकाशित हुन्छ, त्यो आत्मा नै पुरुष हो। यो अनादि, निर्गुण र प्रकृतिभन्दा पर छ। यो अन्तःकरणमा प्रकाशित हुने स्वयंप्रकाश तत्त्व हो ।।३।।
स एष प्रकृतिं सूक्ष्मां दैवीं गुणमयीं विभुः ।
यदृच्छयैवोपगतां अभ्यपद्यत लीलया ॥ ४ ॥
नेपाली भावानुवादः ती सर्वव्यापक पुरुषले आफूसमक्ष लीलापूर्वक आएकी सूक्ष्म, दैवी र त्रिगुणात्मिका प्रकृतिलाई स्वेच्छाले स्वीकार गर्नुभयो ।।४।।
गुणैर्विचित्राः सृजतीं सरूपाः प्रकृतिं प्रजाः ।
विलोक्य मुमुहे सद्यः स इह ज्ञानगूहया ॥ ५ ॥
नेपाली भावानुवादः प्रकृतिले आफ्ना सत्त्वादि गुणहरूद्वारा आफ्नै अनुरूपका विचित्र प्रजाहरू सृष्टि गरिरहेको देखेर, पुरुष उसको अविद्यारूपी आवरण शक्तिद्वारा मोहित भए र आफ्नो वास्तविक स्वरूपलाई बिर्सिए ।।५।।
एवं पराभिध्यानेन कर्तृत्वं प्रकृतेः पुमान् ।
कर्मसु क्रियमाणेषु गुणैरात्मनि मन्यते ॥ ६ ॥
नेपाली भावानुवादः यस प्रकार आफूभन्दा भिन्न प्रकृतिलाई आफ्नो स्वरूप सम्झिएका कारण पुरुषले प्रकृतिद्वारा गरिने कर्महरूमा आफूलाई नै कर्ता मान्न थाले ।।६।।
तदस्य संसृतिर्बन्धः पारतन्त्र्यं च तत्कृतम् ।
भवति अकर्तुरीशस्य साक्षिणो निर्वृतात्मनः ॥ ७ ॥
नेपाली भावानुवादः वास्तवमा अकर्ता, स्वाधीन, साक्षी र आनन्दस्वरूप भए पनि त्यही 'कर्तृत्व' को अभिमानले गर्दा पुरुषले संसारको बन्धन र परतन्त्रता प्राप्त गर्दछन् ।।७।।
कार्यकारणकर्तृत्वे कारणं प्रकृतिं विदुः ।
भोक्तृत्वे सुखदुःखानां पुरुषं प्रकृतेः परम् ॥ ८ ॥
नेपाली भावानुवादः कार्य (शरीर), कारण (इन्द्रिय) र कर्ता (इन्द्रियका अधिष्ठातृ देवता) हरूको उत्पत्तिको कारण 'प्रकृति' लाई मानिन्छ भने सुख-दुःखको भोक्ता हुनुमा प्रकृतिभन्दा पर रहेका 'पुरुष' लाई कारण मानिन्छ ।।८।।
देवहूतिरुवाच –
प्रकृतेः पुरुषस्यापि लक्षणं पुरुषोत्तम ।
ब्रूहि कारणयोरस्य सदसच्च यदात्मकम् ॥ ९ ॥
नेपाली भावानुवादः देवहूतिले भनिन्— हे पुरुषोत्तम! यस विश्वका स्थूल र सूक्ष्म कार्य जसका स्वरूप हुन्, ती कारणभूत प्रकृति र पुरुषका लक्षणहरू मलाई बताइदिनुहोस् ।।९।।
श्रीभगवानुवाच –
यत्तत् त्रिगुणमव्यक्तं नित्यं सदसदात्मकम् ।
प्रधानं प्रकृतिं प्राहुः अविशेषं विशेषवत् ॥ १० ॥
नेपाली भावानुवादः भगवान्ले भन्नुभयो— जो त्रिगुणात्मक, अव्यक्त, नित्य र कार्य-कारण रूप छ तथा स्वयं निर्विशेष भएर पनि सम्पूर्ण विशेष धर्महरूको आश्रय छ, त्यही प्रधान नामक तत्त्वलाई नै 'प्रकृति' भन्दछन् ।।१०।।
पञ्चभिः पञ्चभिर्ब्रह्म चतुर्भिर्दशभिस्तथा ।
एतत् चतुर्विंशतिकं गणं प्राधानिकं विदुः ॥ ११ ॥
नेपाली भावानुवादः पाँच महाभूत, पाँच तन्मात्रा, दस इन्द्रिय र चार अन्तःकरण गरी चौबीस तत्त्वहरूको समूहलाई विद्वान्हरू प्रकृतिको कार्य मान्दछन् ।।११।।
महाभूतानि पञ्चैव भूरापोऽग्निर्मरुन्नभः ।
तन्मात्राणि च तावन्ति गन्धादीनि मतानि मे ॥ १२ ॥
नेपाली भावानुवादः पृथ्वी, जल, तेज, वायु र आकाश— यी पाँच महाभूत हुन्। गन्ध, रस, रूप, स्पर्श र शब्द— यी पाँचलाई म तन्मात्रा मान्दछु ।।१२।।
इन्द्रियाणि दश श्रोत्रं त्वग् दृक् रसननासिकाः ।
वाक्करौ चरणौ मेढ्रं पायुर्दशम उच्यते ॥ १३ ॥
नेपाली भावानुवादः कान, छाला, आँखा, जिब्रो र नाक (ज्ञानेन्द्रिय) तथा वाणी, हात, खुट्टा, जननेन्द्रिय र मलद्वार (कर्मेन्द्रिय)— यी दस इन्द्रिय हुन् ।।१३।।
मनो बुद्धिरहङ्कारः चित्तमित्यन्तरात्मकम् ।
चतुर्धा लक्ष्यते भेदो वृत्त्या लक्षणरूपया ॥ १४ ॥
नेपाली भावानुवादः मन, बुद्धि, अहङ्कार र चित्त— यी चारवटा अन्तःकरण हुन्, जो आफ्नो सङ्कल्प, निश्चय, अभिमान र चिन्तनरूपी वृत्तिहरूका आधारमा चिनिन्छन् ।।१४।।
एतावानेव सङ्ख्यातो ब्रह्मणः सगुणस्य ह ।
सन्निवेशो मया प्रोक्तो यः कालः पञ्चविंशकः ॥ १५ ॥
नेपाली भावानुवादः तत्त्वज्ञानीहरूले सगुण ब्रह्मको आश्रयस्थानका रूपमा यी चौबीस तत्त्वहरूको सङ्ख्या बताएका छन्। यसबाहेक जुन 'काल' छ, त्यो पच्चिसौँ तत्त्व हो ।।१५।।
प्रभावं पौरुषं प्राहुः कालमेके यतो भयम् ।
अहङ्कारविमूढस्य कर्तुः प्रकृतिमीयुषः ॥ १६ ॥
नेपाली भावानुवादः कतिपय व्यक्तिहरू काललाई पुरुषको प्रभाव अर्थात् ईश्वरको संहारिणी शक्ति मान्दछन्, जसबाट अहङ्कारले मोहित भई आफूलाई कर्ता सम्झने जीवहरूलाई निरन्तर भय लागिरहन्छ ।।१६।।
प्रकृतेः गुणसाम्यस्य निर्विशेषस्य मानवि ।
चेष्टा यतः स भगवान् काल इत्युपलक्षितः ॥ १७ ॥
नेपाली भावानुवादः हे मनुपुत्री! जसको प्रेरणाले गुणहरूको साम्यावस्थारूपी निर्विशेष प्रकृतिमा हलचल उत्पन्न हुन्छ, वास्तवमा ती पुरुषरूप भगवान्लाई नै 'काल' भनिन्छ ।।१७।।
अन्तः पुरुषरूपेण कालरूपेण यो बहिः ।
समन्वेत्येष सत्त्वानां भगवान् आत्ममायया ॥ १८ ॥
नेपाली भावानुवादः यस प्रकार जो आफ्नो मायाद्वारा सबै प्राणीहरूको भित्र जीवरूपमा र बाहिर कालरूपमा व्याप्त हुनुहुन्छ, ती भगवान् नै पच्चिसौँ तत्त्व हुनुहुन्छ ।।१८।।
दैवात्क्षुभितधर्मिण्यां स्वस्यां योनौ परः पुमान् ।
आधत्त वीर्यं सासूत महत्तत्त्वं हिरण्मयम् ॥ १९ ॥
नेपाली भावानुवादः जब परमपुरुष परमात्माले जीवहरूको अदृष्ट (भाग्य) का कारण क्षोभ प्राप्त भएको आफ्नो मायामा चैतन्यरूपी वीर्य स्थापित गर्नुभयो, तब त्यसबाट तेजोमय 'महत्तत्त्व' उत्पन्न भयो ।।१९।।
विश्वमात्मगतं व्यञ्जन कूटस्थो जगदङ्कुरः ।
स्वतेजसा पिबत् तीव्रं आत्मप्रस्वापनं तमः ॥ २० ॥
नेपाली भावानुवादः जगत्को अङ्कुररूप त्यस महत्तत्त्वले आफूभित्र रहेको विश्वलाई प्रकट गर्नका लागि प्रलयकालीन अन्धकारलाई आफ्नो तेजले पिइदियो ।।२०।।
यत्तत्सत्त्वगुणं स्वच्छं शान्तं भगवतः पदम् ।
यदाहुर्वासुदेवाख्यं चित्तं तन्महदात्मकम् ॥ २१ ॥
नेपाली भावानुवादः जुन सत्त्वगुणमय, स्वच्छ र शान्त छ तथा भगवान्को प्राप्तिको स्थान हो, त्यही चित्त महत्तत्त्व हो र त्यसैलाई 'वासुदेव' भनिन्छ ।।२१।।
स्वच्छत्वं अविकारित्वं शान्तत्वमिति चेतसः ।
वृत्तिभिर्लक्षणं प्रोक्तं यथापां प्रकृतिः परा ॥ २२ ॥
नेपाली भावानुवादः जसरी अन्य वस्तुको संसर्ग हुनुपूर्व जल स्वाभाविक रूपमा स्वच्छ र शान्त हुन्छ, त्यसै गरी स्वच्छत्व, अविकारित्व र शान्तत्वलाई नै चित्तको लक्षण मानिएको छ ।।२२।।
महत्तत्त्वाद् विकुर्वाणाद् भगवद्वीर्यसम्भवात् ।
क्रियाशक्तिः अहङ्कारः त्रिविधः समपद्यत ॥ २३ ॥
नेपाली भावानुवादः तदनन्तर महत्तत्त्वमा विकार उत्पन्न हुनाले क्रियाशक्ति प्रधान भएको 'अहङ्कार' उत्पन्न भयो ।।२३।।
वैकारिकस्तैजसश्च तामसश्च यतो भवः ।
मनसश्चेन्द्रियाणां च भूतानां महतामपि ॥ २४ ॥
नेपाली भावानुवादः त्यो अहङ्कार वैकारिक (सात्त्विक), तैजस (राजस) र तामस गरी तीन प्रकारको छ। त्यसैबाट क्रमशः मन, इन्द्रिय र पाँच महाभूतहरूको उत्पत्ति भयो ।।२४।।
सहस्रशिरसं साक्षाद् यं अनन्तं प्रचक्षते ।
सङ्कर्षणाख्यं पुरुषं भूतेन्द्रियमनोमयम् ॥ २५ ॥
नेपाली भावानुवादः यस भूत, इन्द्रिय र मनरूप अहङ्कारलाई नै पण्डितहरू साक्षात् हजार शिर भएका अनन्तदेव 'सङ्कर्षण' भन्दछन् ।।२५।।
कर्तृत्वं करणत्वं च कार्यत्वं चेति लक्षणम् ।
शान्तघोरविमूढत्वं इति वा स्यादहङ्कृतेः ॥ २६ ॥
नेपाली भावानुवादः अहङ्कारको लक्षण देवताका रूपमा 'कर्तृत्व', इन्द्रियका रूपमा 'कारणत्व' र पञ्चभूतका रूपमा 'कार्यत्व' हो। त्यस्तै सत्त्वादि गुणका कारण शान्तता, घोरता र मूढता पनि यसका लक्षण हुन् ।।२६।।
वैकारिकाद् विकुर्वाणात् मनस्तत्त्वमजायत ।
यत्सङ्कल्पविकल्पाभ्यां वर्तते कामसम्भवः ॥ २७ ॥
नेपाली भावानुवादः सात्त्विक अहङ्कारमा विकार हुँदा त्यसबाट 'मन' उत्पन्न भयो, जसको सङ्कल्प र विकल्पबाट कामनाहरूको उत्पत्ति हुन्छ ।।२७।।
यद् विदुर्ह्यनिरुद्धाख्यं हृषीकाणां अधीश्वरम् ।
शारदेन्दीवरश्यामं संराध्यं योगिभिः शनैः ॥ २८ ॥
नेपाली भावानुवादः यो मनस्तत्त्व नै इन्द्रियका अधिपति 'अनिरुद्ध' का नामले प्रसिद्ध छ। योगीहरू नीलो कमल समान श्यामवर्ण भएका अनिरुद्धजीको आराधना गर्दछन् ।।२८।।
तैजसात्तु विकुर्वाणाद् बुद्धितत्त्वमभूत्सति ।
द्रव्यस्फुरणविज्ञानं इन्द्रियाणामनुग्रहः ॥ २९ ॥
नेपाली भावानुवादः हे सती! फेरि राजस अहङ्कारमा विकार भएर त्यसबाट 'बुद्धितत्त्व' को उत्पत्ति भयो। वस्तुको ज्ञान हुनु र इन्द्रियका व्यापारमा सहायक हुनु बुद्धिका काम हुन् ।।२९।।
संशयोऽथ विपर्यासो निश्चयः स्मृतिरेव च ।
स्वाप इत्युच्यते बुद्धेः लक्षणं वृत्तितः पृथक् ॥ ३० ॥
नेपाली भावानुवादः संशय, विपर्यय (मिथ्या ज्ञान), निश्चय, स्मृति र निद्रा— यी बुद्धिका लक्षण हुन्। यो बुद्धितत्त्व नै 'प्रद्युम्न' हो ।।३०।।
तैजसानि इन्द्रियाण्येव क्रियाज्ञानविभागशः ।
प्राणस्य हि क्रियाशक्तिः बुद्धेर्विज्ञानशक्तिता ॥ ३१ ॥
नेपाली भावानुवादः इन्द्रियहरू पनि राजस अहङ्कारकै कार्य हुन्। कर्मेन्द्रियमा प्राणको क्रियाशक्ति र ज्ञानेन्द्रियमा बुद्धिको ज्ञानशक्ति प्रधान हुन्छ ।।३१।।
तामसाच्च विकुर्वाणाद् भगवद्वीर्यचोदितात् ।
शब्दमात्रं अभूत् तस्मात् नभः श्रोत्रं तु शब्दगम् ॥ ३२ ॥
नेपाली भावानुवादः भगवान्को प्रेरणाले तामस अहङ्कारमा विकार हुँदा त्यसबाट शब्द-तन्मात्रा उत्पन्न भयो। त्यसैबाट आकाश र शब्द सुन्ने कान (श्रोत्रेन्द्रिय) उत्पन्न भए ।।३२।।
अर्थाश्रयत्वं शब्दस्य द्रष्टुर्लिङ्गत्वमेव च ।
तन्मात्रत्वं च नभसो लक्षणं कवयो विदुः ॥ ३३ ॥
नेपाली भावानुवादः अर्थको बोध गराउनु, वक्ताको ज्ञान दिलाउनु र आकाशको सूक्ष्म रूप हुनु— यी शब्दका लक्षण हुन् ।।३३।।
भूतानां छिद्रदातृत्वं बहिरन्तरमेव च ।
प्राणेन्द्रियात्मधिष्ण्यत्वं नभसो वृत्तिलक्षणम् ॥ ३४ ॥
नेपाली भावानुवादः सबैलाई स्थान दिनु, भित्र र बाहिर व्याप्त रहनु तथा प्राण, इन्द्रिय र मनको आधार हुनु— यी आकाशका लक्षण हुन् ।।३४।।
नभसः शब्दतन्मात्रात् कालगत्या विकुर्वतः ।
स्पर्शोऽभवत्ततो वायुः त्वक् स्पर्शस्य च सङ्ग्रहः ॥ ३५ ॥
नेपाली भावानुवादः आकाशमा कालको प्रभावले विकार हुँदा स्पर्श-तन्मात्रा र त्यसबाट वायु तथा स्पर्श ग्रहण गर्ने छाला (त्वगिन्द्रिय) उत्पन्न भए ।।३५।।
मृदुत्वं कठिनत्वं च शैत्यमुष्णत्वमेव च । ए
तत्स्पर्शस्य स्पर्शत्वं तन्मात्रत्वं नभस्वतः ॥ ३६ ॥
नेपाली भावानुवादः कोमलता, कठोरता, शीतलता र उष्णता— यी स्पर्शका लक्षण हुन् ।।३६।।
चालनं व्यूहनं प्राप्तिः नेतृत्वं द्रव्यशब्दयोः ।
सर्वेन्द्रियाणां आत्मत्वं वायोः कर्माभिलक्षणम् ॥ ३७ ॥
नेपाली भावानुवादः चलाउनु, वस्तुहरूलाई एकत्रित गर्नु, गन्ध र शब्दलाई इन्द्रियको नजिक पुर्याउनु तथा सबै इन्द्रियहरूलाई शक्ति दिनु— यी वायुका लक्षण हुन् ।।३७।।
वायोश्च स्पर्शतन्मात्राद् रूपं दैवेरितादभूत् ।
समुत्थितं ततस्तेजः चक्षू रूपोपलम्भनम् ॥ ३८ ॥
नेपाली भावानुवादः स्पर्श-तन्मात्रा युक्त वायु विकृत हुँदा रूप-तन्मात्रा र त्यसबाट 'तेज' तथा रूप देख्ने आँखा (चक्षुइन्द्रिय) उत्पन्न भए ।।३८।।
द्रव्याकृतित्वं गुणता व्यक्तिसंस्थात्वमेव च ।
तेजस्त्वं तेजसः साध्वि रूपमात्रस्य वृत्तयः ॥ ३९ ॥
नेपाली भावानुवादः वस्तुको आकारको बोध गराउनु, तेजको तन्मात्रा हुनु र वस्तुको रूप स्पष्ट पार्नु— यी रूपका लक्षण हुन् ।।३९।।
द्योतनं पचनं पानं अदनं हिममर्दनम् ।
नेपाली भावानुवादः चम्कनु, पकाउनु, तिर्खा र भोक मेटाउनु, जाडो हटाउनु र वस्तुलाई सुकाउनु— यी तेजका कार्यहरू हुन् ।।४०।।
रूपमात्राद् विकुर्वाणात् तेजसो दैवचोदितात् ।
रसमात्रं अभूत् तस्मात् अम्भो जिह्वा रसग्रहः ॥ ४१ ॥
नेपाली भावानुवादः रूप-तन्मात्रा युक्त तेजमा विकार हुँदा रस-तन्मात्रा र त्यसबाट 'जल' तथा रस लिने जिब्रो (रसेन्द्रिय) उत्पन्न भए ।।४१।।
कषायो मधुरस्तिक्तः कट्वम्ल इति नैकधा ।
भौतिकानां विकारेण रस एको विभिद्यते ॥ ४२ ॥
नेपाली भावानुवादः रस स्वभावतः एकै भए पनि अन्य वस्तुको संयोगले गुलियो, अमिलो, पिरो आदि धेरै प्रकारको हुन्छ ।।४२।।
क्लेदनं पिण्डनं तृप्तिः प्राणनाप्यायनोन्दनम् ।
तापापनोदो भूयस्त्वं अम्भसो वृत्तयस्त्विमाः ॥ ४३ ॥
नेपाली भावानुवादः वस्तुलाई भिजाउनु, तृप्त गराउनु, जीवित राख्नु, ताप हटाउनु र वस्तुलाई नरम बनाउनु— यी जलका कार्यहरू हुन् ।।४३।।
रसमात्राद् विकुर्वाणात् अम्भसो दैवचोदितात् ।
गन्धमात्रं अभूत् तस्मात् पृथ्वी घ्राणस्तु गन्धगः ॥ ४४ ॥
नेपाली भावानुवादः रस-तन्मात्रा युक्त जलमा विकार हुँदा गन्ध-तन्मात्रा र त्यसबाट 'पृथ्वी' तथा गन्ध थाहा पाउने नाक (घ्राणेन्द्रिय) उत्पन्न भए ।।४४।।
करम्भपूतिसौरभ्य शान्तोग्राम्लादिभिः पृथक् ।
द्रव्यावयववैषम्याद् गन्ध एको विभिद्यते ॥ ४५ ॥
नेपाली भावानुवादः गन्ध एउटै भए पनि वस्तुको भिन्नता अनुसार त्यो सुगन्ध, दुर्गन्ध आदि धेरै प्रकारको हुन्छ ।।४५।।
भावनं ब्रह्मणः स्थानं धारणं सद्विशेषणम् ।
सर्वसत्त्वगुणोद्भेदः पृथिवीवृत्तिलक्षणम् ॥ ४६ ॥
नेपाली भावानुवादः प्रतिमाका रूपमा ब्रह्मको साकार उपासनाको आधार हुनु, वस्तुहरूलाई धारण गर्नु र सबै प्राणीको बासस्थान हुनु— यी पृथ्वीका लक्षण हुन् ।।४६।।
नभोगुणविशेषोऽर्थो यस्य तच्छ्रोत्रमुच्यते ।
वायोर्गुणविशेषोऽर्थो यस्य तत्स्पर्शनं विदुः ॥ ४७ ॥
नेपाली भावानुवादः आकाशको गुण 'शब्द' जसको विषय हो, त्यो कान हो। वायुको गुण 'स्पर्श' जसको विषय हो, त्यो छाला हो ।।४७।।
तेजोगुणविशेषोऽर्थो यस्य तच्चक्षुरुच्यते ।
अम्भोगुणविशेषोऽर्थो यस्य तद्रसनं विदुः ।
भूमेर्गुणविशेषोऽर्थो यस्य स घ्राण उच्यते ॥ ४८ ॥
नेपाली भावानुवादः तेजको गुण 'रूप' देख्ने आँखा हो, जलको गुण 'रस' लिने जिब्रो हो र पृथ्वीको गुण 'गन्ध' सुघ्ने नाक हो ।।४८।।
परस्य दृश्यते धर्मो हि, अपरस्मिन् समन्वयात् ।
नेपाली भावानुवादः कारण तत्त्वको गुण कार्य तत्त्वमा पनि हुने भएकाले शब्द, स्पर्श, रूप र रसका साथै गन्ध— यी सबै पाँचै गुणहरू पृथ्वीमा मात्र पाइन्छन् ।।४९।।
एतान्यसंहत्य यदा महदादीनि सप्त वै ।
कालकर्मगुणोपेतो जगदादिरुपाविशत् ॥ ५० ॥
नेपाली भावानुवादः जब महत्तत्त्व, अहङ्कार र पाँच महाभूत गरी यी सात तत्त्वहरू आपसमा मिल्न सकेनन्, तब जगत्का आदि कारण श्रीनारायणले काल, कर्म र गुणसहित ती तत्त्वहरूमा प्रवेश गर्नुभयो ।।५०।।
ततस्तेनानुविद्धेभ्यो युक्तेभ्योऽण्डं अचेतनम् ।
उत्थितं पुरुषो यस्मात् उदतिष्ठदसौ विराट् ॥ ५१ ॥
नेपाली भावानुवादः भगवान्को प्रवेशले गर्दा आपसमा मिलेका ती तत्त्वहरूबाट एक जड 'अण्ड' उत्पन्न भयो र त्यही अण्डबाट विराट पुरुष प्रकट हुनुभयो ।।५१।।
एतदण्डं विशेषाख्यं क्रमवृद्धैर्दशोत्तरैः ।
तोयादिभिः परिवृतं प्रधानेनावृतैर्बहिः ।
यत्र लोकवितानोऽयं रूपं भगवतो हरेः ॥ ५२ ॥
नेपाली भावानुवादः त्यो अण्डलाई 'विशेष' भनिन्छ। यसभित्र चौध भुवनको विस्तार भएको छ। यो अण्ड बाहिरबाट जल, अग्नि, वायु, आकाश, अहङ्कार र महत्तत्त्व गरी सातवटा आवरणले घेरिएको छ ।।५२।।
हिरण्मयाद् अण्डकोशाद् उत्थाय सलिले शयात् ।
तमाविश्य महादेवो बहुधा निर्बिभेद खम् ॥ ५३ ॥
नेपाली भावानुवादः कारण-जलमा रहेको त्यस तेजोमय अण्डबाट निस्किएर विराट पुरुषले पुनः त्यसमा प्रवेश गर्नुभयो र त्यसपछि त्यसमा अनेक छिद्रहरू (इन्द्रिय स्थान) देखा परे ।।५३।।
निरभिद्यतास्य प्रथमं मुखं वाणी ततोऽभवत् ।
वाण्या वह्निरथो नासे प्राणोऽतो घ्राण एतयोः ॥ ५४ ॥
नेपाली भावानुवादः सबभन्दा पहिले मुख प्रकट भयो, जसबाट वाणी र त्यसका अधिष्ठाता अग्नि उत्पन्न भए। त्यसपछि नाकका प्वालहरूबाट प्राण र घ्राणेन्द्रिय उत्पन्न भए ।।५४।।
घ्राणात् वायुरभिद्येतां अक्षिणी चक्षुरेतयोः ।
तस्मात्सूर्यो न्यभिद्येतां कर्णौ श्रोत्रं ततो दिशः ॥ ५५ ॥
नेपाली भावानुवादः घ्राणेन्द्रिय पछि वायु, आँखाका गोलकहरूबाट चक्षु र सूर्य, तथा कानका प्वालहरूबाट श्रोत्र र दिशाहरू उत्पन्न भए ।।५५।।
निर्बिभेद विराजस्त्वग् रोमश्मश्र्वादयस्ततः ।
तत ओषधयश्चासन् शिश्नं निर्बिभिदे ततः ॥ ५६ ॥
नेपाली भावानुवादः त्यसपछि विराट पुरुषको छाला र त्यसमा रौंहरू तथा औषधीहरू (अन्न) उत्पन्न भए। त्यसपछि जननेन्द्रिय प्रकट भयो ।।५६।।
रेतस्तस्मादाप आसन् निरभिद्यत वै गुदम् ।
गुदादपानोऽपानाच्च मृत्युर्लोकभयङ्करः ॥ ५७ ॥
नेपाली भावानुवादः जननेन्द्रियबाट वीर्य र त्यसका अधिष्ठाता जल उत्पन्न भए। त्यसपछि मलद्वारबाट अपान वायु र मृत्यु देवता उत्पन्न भए ।।५७।।
हस्तौ च निरभिद्येतां बलं ताभ्यां ततः स्वराट् ।
पादौ च निरभिद्येतां गतिस्ताभ्यां ततः हरिः ॥ ५८ ॥
नेपाली भावानुवादः त्यसपछि हातहरूबाट बल र इन्द्र, तथा खुट्टाहरूबाट गति र विष्णु देवता उत्पन्न भए ।।५८।।
नाड्योऽस्य निरभिद्यन्त ताभ्यो लोहितमाभृतम् ।
नद्यस्ततः समभवन् उदरं निरभिद्यत ॥ ५९ ॥
नेपाली भावानुवादः विराट पुरुषको नाडीहरूबाट रगत र नदीहरू उत्पन्न भए। त्यसपछि पेट प्रकट भयो ।।५९।।
क्षुत्पिपासे ततः स्यातां समुद्रस्त्वेतयोरभूत् ।
अथास्य हृदयं भिन्नं हृदयान्मन उत्थितम् ॥ ६० ॥
नेपाली भावानुवादः पेटबाट भोक-तिर्खा र समुद्र उत्पन्न भए। त्यसपछि हृदय प्रकट भयो र हृदयबाट मन उत्पन्न भयो ।।६०।।
मनसश्चन्द्रमा जातो बुद्धिर्बुद्धेर्गिरां पतिः ।
अहङ्कारस्ततो रुद्रः चित्तं चैत्यस्ततोऽभवत् ॥ ६१ ॥
नेपाली भावानुवादः मनबाट चन्द्रमा, बुद्धिबाट ब्रह्मा, अहङ्कारबाट रुद्र र चित्तबाट क्षेत्रज्ञ (परमात्मा) उत्पन्न भए ।।६१।।
एते हि अभ्युत्थिता देवा नैवास्योत्थापनेऽशकन् ।
पुनराविविशुः खानि तमुत्थापयितुं क्रमात् ॥ ६२ ॥
नेपाली भावानुवादः यी सबै देवताहरू उत्पन्न भएर पनि विराट पुरुषलाई उठाउन असमर्थ भए। त्यसैले उहाँलाई उठाउन उनीहरू पुनः क्रमशः आफ्ना उत्पत्ति स्थानमा प्रवेश गर्न थाले ।।६२।।
वह्निर्वाचा मुखं भेजे नोदतिष्ठत् तदा विराट् ।
घ्राणेन नासिके वायुः नोदतिष्ठत् तदा विराट् ॥ ६३ ॥
नेपाली भावानुवादः अग्निले वाणीसहित मुखमा प्रवेश गरे, तर विराट पुरुष उठेनन्। वायुले घ्राणेन्द्रियसहित नाकमा प्रवेश गरे, तर पनि विराट पुरुष उठेनन् ।।६३।।
अक्षिणी चक्षुषादित्यो नोदतिष्ठत् तदा विराट् ।
श्रोत्रेण कर्णौ च दिशो नोदतिष्ठत् तदा विराट् ॥ ६४ ॥
नेपाली भावानुवादः सूर्यले आँखामा र दिशाहरूले कानमा प्रवेश गरे, तर पनि विराट पुरुष उठेनन् ।।६४।।
त्वचं रोमभिरोषध्यो नोदतिष्ठत् तदा विराट् ।
रेतसा शिश्नमापस्तु नोदतिष्ठत् तदा विराट् ॥ ६५ ॥
नेपाली भावानुवादः औषधीहरूले छालामा र जलले जननेन्द्रियमा प्रवेश गरे, तर पनि विराट पुरुष उठेनन् ।।६५।।
गुदं मृत्युरपानेन नोदतिष्ठत् तदा विराट् ।
हस्ताविन्द्रो बलेनैव नोदतिष्ठत् तदा विराट् ॥ ६६ ॥
नेपाली भावानुवादः मृत्युले मलद्वारमा र इन्द्रले हातमा प्रवेश गरे, तैपनि विराट पुरुष उठेनन् ।।६६।।
विष्णुर्गत्यैव चरणौ नोदतिष्ठत् तदा विराट् ।
नाडीर्नद्यो लोहितेन नोदतिष्ठत् तदा विराट् ॥ ६७ ॥
नेपाली भावानुवादः विष्णुले खुट्टामा र नदीहरूले नाडीमा प्रवेश गरे, तर पनि विराट पुरुष उठेनन् ।।६७।।
क्षुत्तृड्भ्यां उदरं सिन्धुः नोदतिष्ठत् तदा विराट् ।
हृदयं मनसा चन्द्रो नोदतिष्ठत् तदा विराट् ॥ ६८ ॥
नेपाली भावानुवादः समुद्रले पेटमा र चन्द्रमाले हृदयमा प्रवेश गरे, तैपनि विराट पुरुष उठेनन् ।।६८।।
बुद्ध्या ब्रह्मापि हृदयं नोदतिष्ठत् तदा विराट् ।
रुद्रोऽभिमत्या हृदयं नोदतिष्ठत् तदा विराट् ॥ ६९ ॥
नेपाली भावानुवादः ब्रह्माले बुद्धि र रुद्रले अहङ्कारसहित हृदयमा प्रवेश गरे, तर पनि विराट पुरुष उठेनन् ।।६९।।
चित्तेन हृदयं चैत्यः क्षेत्रज्ञः प्राविशद्यदा ।
विराट्तदैव पुरुषः सलिलाद् उदतिष्ठत ॥ ७० ॥
नेपाली भावानुवादः जब चित्तका अधिष्ठाता क्षेत्रज्ञले चित्तसहित हृदयमा प्रवेश गरे, तब मात्र विराट पुरुष जलबाट उठेर खडा हुनुभयो ।।७०।।
यथा प्रसुप्तं पुरुषं प्राणेन्द्रियमनोधियः ।
प्रभवन्ति विना येन नोत्थापयितुमोजसा ॥ ७१ ॥
नेपाली भावानुवादः जसरी प्राण, इन्द्रिय र मनले क्षेत्रज्ञ (आत्मा) विना सुतेको मानिसलाई उठाउन सक्दैनन्, त्यसै गरी विराट पुरुष पनि परमात्माविना उठ्न सक्नुभएन ।।७१।।
तमस्मिन् प्रत्यगात्मानं धिया योगप्रवृत्तया ।
भक्त्या विरक्त्या ज्ञानेन विविच्यात्मनि चिन्तयेत् ॥ ७२ ॥
नेपाली भावानुवादः त्यसैले भक्ति, वैराग्य र ज्ञानद्वारा त्यस अन्तरात्माको यसै शरीरभित्र चिन्तन गर्नुपर्दछ ।।७२।।
🌸 यस अध्यायको सार तथा दर्शन 🌸
अध्याय सारांश
यस अध्यायमा भगवान् कपिलले माता देवहूतिलाई साङ्ख्य योगको माध्यमबाट सृष्टिको क्रम र तत्त्वहरूको ज्ञान दिनुभएको छ। उहाँले भन्नुभयो कि प्रकृतिका गुणहरूबाट मुक्त हुनका लागि तत्त्वहरूको लक्षण जान्नु आवश्यक छ। पुरुष (आत्मा) अनादि, निर्गुण र स्वयंप्रकाश तत्त्व हो, जो प्रकृतिभन्दा पर छ। लीलापूर्वक पुरुषले गुणमयी प्रकृतिलाई स्वीकार गरेपछि सृष्टिको प्रक्रिया सुरु हुन्छ। प्रकृतिको कार्यबाट मोहित भएर पुरुषले आफूलाई कर्ता सम्झन थाल्छन्, जुन नै बन्धनको कारण हो। कपिलले सृष्टिका चौबीस तत्त्वहरूको वर्णन गर्नुभयो, जसमा पाँच महाभूत र पाँच तन्मात्रा पर्दछन्। दस इन्द्रिय र चार अन्तःकरण (मन, बुद्धि, चित्त, अहङ्कार) गरी अन्य तत्त्वहरूको पनि व्याख्या गरिएको छ। काललाई पच्चिसौँ तत्त्व मानिएको छ, जो ईश्वरको शक्ति र प्रकृतिको प्रेरक हो। सृष्टिको सुरुमा परमात्माको प्रेरणाले महत्तत्त्व उत्पन्न हुन्छ, जसलाई वासुदेव भनिन्छ। महत्तत्त्वबाट अहङ्कार उत्पन्न हुन्छ, जो सात्त्विक, राजस र तामस गरी तीन प्रकारको छ। सात्त्विक अहङ्कारबाट मन र त्यसका अधिष्ठाता अनिरुद्धको उत्पत्ति हुन्छ। राजस अहङ्कारबाट बुद्धि र इन्द्रियहरूको जन्म हुन्छ। तामस अहङ्कारबाट क्रमशः शब्द, आकाश, स्पर्श, वायु, रूप, तेज, रस, जल र गन्धसहित पृथ्वीको उत्पत्ति हुन्छ। यी तत्त्वहरू सुरुमा अलग-अलग थिए र आपसमा मिलेर सृष्टि गर्न असमर्थ थिए। जब भगवान्ले यी सात तत्त्वहरूमा प्रवेश गर्नुभयो, तब एक विशाल ब्रह्माण्डरूपी अण्ड उत्पन्न भयो। त्यस अण्डभित्र विराट पुरुषको प्राकट्य भयो, जो ईश्वरको साकार रूप हो। विराट पुरुषको शरीरबाट विभिन्न इन्द्रिय स्थान र तिनका अधिष्ठाता देवताहरूको उत्पत्ति भयो। मुखबाट वाणी र अग्नि, नाकबाट प्राण र वायु, अनि आँखाबाट चक्षु र सूर्य उत्पन्न भए। कानबाट श्रोत्र र दिशाहरू, छालाबाट औषधि र रौंहरू, अनि जननेन्द्रियबाट जल उत्पन्न भयो। मलद्वारबाट मृत्यु, हातबाट इन्द्र र खुट्टाबाट विष्णु देवताको प्राकट्य भयो। नाडीबाट नदीहरू, पेटबाट समुद्र र हृदयबाट मन, बुद्धि र अहङ्कारको उत्पत्ति भयो। यी सबै देवताहरू उत्पन्न भए पनि विराट पुरुषलाई चेतनशील बनाउन र उठाउन सकेनन्। प्रत्येक देवताले आ-आफ्नो स्थानमा प्रवेश गरेर प्रयास गरे, तर विराट पुरुष उठ्न सक्नुभएन। अग्नि, वायु, सूर्य, दिशा र अन्य सबै शक्तिहरू एक-एक गर्दै शरीरमा प्रवेश गरे पनि शरीर जड नै रह्यो। चन्द्रमाले मनसहित र ब्रह्माले बुद्धिसहित हृदयमा प्रवेश गर्दा पनि कुनै हलचल भएन। अन्तमा जब क्षेत्रज्ञ (परमात्मा) ले चित्तसहित हृदयमा प्रवेश गर्नुभयो, तब मात्र विराट पुरुष उठ्नुभयो। यसले यो सिद्ध गर्दछ कि इन्द्रिय र प्राणहरू परमात्माको सत्ताविना निष्क्रिय हुन्छन्। सुतेको मानिसलाई प्राण वा इन्द्रियले मात्र उठाउन नसकेझैँ परमात्माविना यो जगत् चल्दैन। भगवान् कपिलले मातालाई यो ज्ञान दिएर आत्माको श्रेष्ठता स्पष्ट पार्नुभयो। यस अध्यायको मुख्य उद्देश्य जीवलाई प्रकृति र पुरुषको भेद बुझाएर ईश्वरको भक्तिमा लगाउनु हो।
दार्शनिक पक्ष
साङ्ख्य दर्शनले प्रकृतिको जडता र पुरुषको चेतनतालाई छुट्ट्याएर देखाउँछ। पुरुष स्वयं अकर्ता भए पनि प्रकृतिको संसर्गले गर्दा आफूलाई कर्ता र भोक्ता मान्न पुग्छ। 'काल' लाई ईश्वरको संहारक र प्रेरक शक्तिको रूपमा व्याख्या गरिएको छ। सृष्टिका सबै भौतिक तत्त्वहरू परमात्माको शक्तिविना जड र असहाय हुन्छन्। विराट पुरुषको वर्णनले सम्पूर्ण ब्रह्माण्ड ईश्वरकै एउटा विशाल शरीर हो भन्ने पुष्टि गर्छ। इन्द्रियका अधिष्ठाता देवताहरू भए पनि ती सबैको नियन्ता भने क्षेत्रज्ञ (परमात्मा) नै हुनुहुन्छ। 'वासुदेव' भनेको त्यो शुद्ध चित्त हो जहाँ सत्त्वगुणको पूर्णता र शान्ति हुन्छ। आत्माको उपस्थिति विना प्राण र बुद्धिले पनि शरीरलाई जीवन दिन सक्दैनन्। यो जगत् पञ्चमहाभूतको खेल भए पनि यसको आधार भने ईश्वरीय चेतना नै हो। भक्ति र वैराग्यविनाको ज्ञानले मात्र हृदयको अविद्यारूपी गाँठो खुल्न सक्दैन।