/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

तृतीय स्कंधः - त्रयोविंशोऽध्यायः

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः– त्रयोविंशोऽध्यायः


 

 
मैत्रेय उवाच
पितृभ्यां प्रस्थिते साध्वी पतिं इङ्कितकोविदा ।
नित्यं पर्यचरत् प्रीत्या भवानीव भवं प्रभुम् ॥ १ ॥
नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयोहे विदुरजी! माता-पिता फर्किएपछि पतिको मनोभाव बुझ्न अत्यन्त निपुण ती साध्वी देवहूतिले सधैँ आफ्ना पति कर्दमजीको त्यसरी नै सेवा गर्न थालिन्, जसरी भवानी पार्वतीले भगवान् शिवको सेवा गर्नुहुन्थ्यो ।।१।।
 
विश्रम्भेणात्मशौचेन गौरवेण दमेन च ।
शुश्रूषया सौहृदेन वाचा मधुरया च भोः ॥ २ ॥
विसृज्य कामं दम्भं च द्वेषं लोभमघं मदम् ।
अप्रमत्तोद्यता नित्यं तेजीयांसमतोषयत् ॥ ३ ॥
नेपाली भावानुवादः उनले काम, दम्भ, द्वेष, लोभ, पाप र मदलाई त्यागेर सावधानीपूर्वक सेवामा तत्पर रहँदै विश्वास, बाह्य तथा आन्तरिक पवित्रता, गौरव, इन्द्रिय संयम, सेवा, प्रेम र मधुर वाणीद्वारा आफ्ना परम तेजस्वी पतिलाई सन्तुष्ट पारिन् ।।२-३।।
 
स वै देवर्षिवर्यस्तां मानवीं समनुव्रताम् ।
दैवाद्गरीयसः पत्युः आशासानां महाशिषः ॥ ४ ॥
कालेन भूयसा क्षामां कर्शितां व्रतचर्यया ।
प्रेमगद्गदया वाचा पीडितः कृपयाब्रवीत् ॥ ५ ॥
नेपाली भावानुवादः देवर्षिहरूमा श्रेष्ठ कर्दमजीले आफ्नी पत्नी देवहूतिलाई आफ्नो सेवा र कठोर व्रतका कारण दुब्ली-पातली भएको देख्नुभयो। आफ्ना पतिलाई भाग्यभन्दा पनि ठुलो मानी सेवामा समर्पित उनलाई देखेर मुनि कृपाले द्रवित हुनुभयो र गद्गद वाणीमा भन्नुभयो ।।४-५।।
 
कर्दम उवाच
तुष्टोऽहमद्य तव मानवि मानदायाः
    शुश्रूषया परमया परया च भक्त्या ।
यो देहिनामयमतीव सुहृत्स देहो
    नावेक्षितः समुचितः क्षपितुं मदर्थे ॥ ६ ॥
नेपाली भावानुवादः कर्दमजीले भन्नुभयोहे मानवी (मनुपुत्री)! अरूलाई सम्मान दिने स्वभाव भएकी तिम्रो सेवा र अनन्य भक्तिबाट म आज अत्यन्त प्रसन्न छु। सबै देहधारीहरूलाई आफ्नो शरीर सबैभन्दा प्रिय हुन्छ, तर तिमीले मेरो सेवाका लागि शरीरको समेत प्रवाह नगरी त्यसलाई सुकायौ ।।६।।
 
ये मे स्वधर्मनिरतस्य तपःसमाधि
    विद्यात्मयोगविजिता भगवत्प्रसादाः ।
तानेव ते मदनुसेवनयावरुद्धान्
    दृष्टिं प्रपश्य वितराम्यभयानशोकान् ॥ ७ ॥
नेपाली भावादुवादः आफ्नो धर्ममा दत्तचित्त रहेर मैले तपस्या, समाधि, विद्या र योगद्वारा भगवान्‌को कृपाले जुन अभय र शोकरहित विभूतिहरू प्राप्त गरेको छु, मेरो सेवाका कारण ती सबैमा तिम्रो पनि अधिकार भएको छ। म तिमीलाई ती दिव्य दृष्टि प्रदान गर्दछु, जसबाट तिमीले ती अलौकिक सुखहरू देख्न र भोग्न सक्नेछौ ।।७।।
 
अन्ये पुनर्भगवतो भ्रुव उद्विजृम्भ
    विभ्रंशितार्थरचनाः किमुरुक्रमस्य ।
सिद्धासि भुङ्क्ष्व विभवान् निजधर्मदोहान्
    दिव्यान् नरैर्दुरधिगान् नृपविक्रियाभिः ॥ ८ ॥
नेपाली भावानुवादः अरू जति पनि नाशवान् भोगहरू छन्, ती त भगवान् श्रीहरिको भृकुटी विलास (इसारा) मात्रले नष्ट हुन्छन्। तिमी आफ्नो पतिव्रता धर्मका कारण कृतार्थ भएकी छौ। अब तिमी ती दिव्य भोगहरू भोग्न सक्छौ, जो घमण्डी राजाहरूका लागि समेत दुर्लभ छन् ।।८।।
 
एवं ब्रुवाणमबलाखिलयोगमाया
    विद्याविचक्षणमवेक्ष्य गताधिरासीत् ।
सम्प्रश्रयप्रणयविह्वलया गिरेषद्
    व्रीडावलोकविलसद् हसिताननाह ॥ ९ ॥
नेपाली भावानुवादः कर्दमजीले यसप्रकार भन्दाखेरि, आफ्ना पतिदेवलाई समस्त योगमाया र विद्याहरूमा निपुण सम्झेर ती देवहूतिको सबै चिन्ता हटेर गयो। उनको मुखमण्डलमा मन्द मुस्कान र लज्जा छायो र उनी विनयपूर्वक गद्गद वाणीले यसप्रकार भन्न थालिन् ।।९।।
 
देवहूतिरुवाच
राद्धं बत द्विजवृषैतदमोघयोग
    मायाधिपे त्वयि विभो तदवैमि भर्तः ।
यस्तेऽभ्यधायि समयः सकृदङ्गसङ्गो
    भूयाद्गरीयसि गुणः प्रसवः सतीनाम् ॥ १० ॥
नेपाली भावानुवादः देवहूतिले भन्नुभयोहे ब्राह्मणश्रेष्ठ! हे स्वामी! कहिल्यै असफल नहुने योगशक्ति र मायाका अधिपति हजुरमा यी सबै ऐश्वर्यहरू सम्भव छन् भन्ने कुरा मलाई थाहा छ। तर हे विभो! हजुरले विवाहको समयमा मलाई सन्तान सुख दिने जुन वचन दिनुभएको थियो, त्यसलाई अब पूरा गरिदिनुहोस्; किनकि श्रेष्ठ पतिबाट सन्तान प्राप्त गर्नु नै पतिव्रता नारीका लागि सबैभन्दा ठुलो गुण हो ।।१०।।
 
तत्रेतिकृत्यमुपशिक्ष यथोपदेशं
    येनैष मे कर्शितोऽतिरिरंसयाऽऽत्मा ।
सिद्ध्येत ते कृतमनोभवधर्षिताया
    दीनस्तदीश भवनं सदृशं विचक्ष्व ॥ ११ ॥
नेपाली भावानुवादः शास्त्रले बताए अनुसार हामी दुईको समागमका लागि जे-जस्तो तयारी गर्नुपर्ने हो, त्यसको उपदेश दिनुहोस्। कामाग्निले गर्दा मेरो यो दुब्लो शरीर हजुरको योग्य होस् र यसका लागि एउटा उपयुक्त भवनको व्यवस्था गरिदिनुहोस् ।।११।।
 
मैत्रेय उवाच
प्रियायाः प्रियमन्विच्छन् कर्दमो योगमास्थितः ।
विमानं कामगं क्षत्तः तर्ह्येवाविरचीकरत् ॥ १२ ॥
नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयोहे विदुरजी! आफ्नी प्रियाको इच्छा पूरा गर्न कर्दम मुनिले योगको सहारा लिएर तत्कालै इच्छा अनुसार जहाँ पनि जान सक्ने एक अद्भुत 'विमान' प्रकट गर्नुभयो ।।१२।।
 
सर्वकामदुघं दिव्यं सर्वरत्नसमन्वितम् ।
सर्वर्द्ध्युपचयोदर्कं मणिस्तम्भैरुपस्कृतम् ॥ १३ ॥
नेपाली भावानुवादः त्यो विमान सबै प्रकारका इच्छाहरू पूरा गर्ने, दिव्य रत्नहरूले जडिएको, सबै प्रकारका सुख-सुविधायुक्त र मणिमय खम्बाहरूले सुशोभित थियो ।।१३।।
 
दिव्योपकरणोपेतं सर्वकालसुखावहम् ।
पट्टिकाभिः पताकाभिः विचित्राभिः अलङ्कृतम् ॥ १४ ॥
नेपाली भावानुवादः त्यो विमान सबै ऋतुहरूमा सुखदायक थियो र त्यसमा चित्रविचित्रका रेशमी झण्डाहरू र अन्य दिव्य सामग्रीहरूले सजाइएको थियो ।।१४।।
 
स्रग्भिर्विचित्रमाल्याभिः मञ्जुशिञ्जत् षडङ्घ्रिभिः ।
दुकूलक्षौमकौशेयैः नानावस्त्रैः विराजितम् ॥ १५ ॥
नेपाली भावानुवादः त्यहाँ भमराहरू गुनगुनाइरहेका फूलका मालाहरू र रङ्गीचङ्गी रेशमी तथा सुती वस्त्रहरूले विमानको शोभा बढाएका थिए ।।१५।।
 
उपर्युपरि विन्यस्त निलयेषु पृथक्पृथक् ।
क्षिप्तैः कशिपुभिः कान्तं पर्यङ्कव्यजनासनैः ॥ १६ ॥
नेपाली भावानुवादः एक माथि अर्को तल्लामा बनाइएका छुट्टाछुट्टै कोठाहरूमा नरम ओछ्यान, पलङ, पङ्खा र बस्ने आसनहरू राखिएकाले त्यो अत्यन्त मनमोहक देखिन्थ्यो ।।१६।।
 
तत्र तत्र विनिक्षिप्त नानाशिल्पोपशोभितम् ।
महामरकतस्थल्या जुष्टं विद्रुमवेदिभिः ॥ १७ ॥
नेपाली भावानुवादः विमानका विभिन्न स्थानमा अद्वितीय शिल्पकलाहरू कुँदिएका थिए। भुईँमा पन्ना (मरकत) जडिएको थियो भने बस्नका लागि मुगाका वेदीहरू बनाइएका थिए ।।१७।।
 
द्वाःसु विद्रुमदेहल्या भातं वज्रकपाटवत् ।
शिखरेषु इन्द्रनीलेषु हेमकुम्भैः अधिश्रितम् ॥ १८ ॥
नेपाली भावानुवादः ढोकाको दैलो मुगाको र ढोकाहरू हीराका थिए। इन्द्रनील मणिले बनेका भवनका शिखरहरूमा सुनका कलशहरू राखिएका थिए ।।१८।।
 
चक्षुष्मत् पद्मरागाग्र्यैः वज्रभित्तिषु निर्मितैः ।
जुष्टं विचित्रवैतानैः महार्हैः हेमतोरणैः ॥ १९ ॥
नेपाली भावानुवादः हीराको पर्खालमा जडिएका बहुमूल्य पद्मराग (लाल) मणिहरू विमानका आँखा जस्तै चम्किरहेका थिए। त्यसलाई रङ्गीचङ्गी चन्दवा र सुनौला तोरणहरूले सजाइएको थियो ।।१९।।
 
हंसपारावतव्रातैः तत्र तत्र निकूजितम् ।
कृत्रिमान् मन्यमानैः स्वान् अधिरुह्याधिरुह्य च ॥ २० ॥
नेपाली भावानुवादः त्यहाँ बनाइएका कृत्रिम हाँस र परेवाहरू यति सजीव थिए कि सक्कली चराहरूले तिनलाई आफ्नै साथी ठानेर तिनीहरूसँगै बसेर कराउन थाल्दथे ।।२०।।
 
विहारस्थानविश्राम संवेशप्राङ्गणाजिरैः ।
यथोपजोषं रचितैः व्प्स्मापनं इवात्मनः ॥ २१ ॥
नेपाली भावानुवादः त्यसमा बगैँचा, विश्राम कक्ष, आँगन र चोकहरू यति व्यवस्थित रूपले बनाइएका थिए कि त्यो देखेर स्वयं कर्दमजी पनि अचम्मित हुनुभयो ।।२१।।
 
ईदृग्गृहं तत्पश्यन्तीं नातिप्रीतेन चेतसा ।
सर्वभूताशयाभिज्ञः प्रावोचत् कर्दमः स्वयम् ॥ २२ ॥
निमज्ज्यास्मिन् ह्रदे भीरु विमानं इदमारुह ।
इदं शुक्लकृतं तीर्थं आशिषां यापकं नृणाम् ॥ २३ ॥
नेपाली भावानुवादः यस्तो वैभवशाली विमान देख्दा पनि देवहूति पूर्ण रूपमा प्रसन्न नभएको (आफ्नो मैलो शरीरका कारण हच्किएको) बुझेर मुनिले भन्नुभयोहे प्रिय! तिमी डराउनु पर्दैन, यो भगवान् विष्णुले बनाउनुभएको विन्दु सरोवर हो, यसमा स्नान गरेर विमानमा चढ। यो तीर्थले मानिसका सबै मनोकाङ्क्षाहरू पूरा गर्दछ ।।२२-२३।।
 
सा तद्भर्तुः समादाय वचः कुवलयेक्षणा ।
सरजं बिभ्रती वासो वेणीभूतांश्च मूर्धजान् ॥ २४ ॥
अङ्गं च मलपङ्केन सञ्छन्नं शबलस्तनम् ।
आविवेश सरस्वत्याः सरः शिवजलाशयम् ॥ २५ ॥
नेपाली भावानुवादः कमलजस्तै आँखा भएकी देवहूतिले पतिको आज्ञा शिरोधार्य गरी मैलो लुगा र लट्टा परेको कपालकै अवस्थामा सरस्वती नदीको जलले भरिएको त्यस कल्याणकारी सरोवरमा प्रवेश गरिन् ।।२४-२५।।
 
सान्तः सरसि वेश्मस्थाः शतानि दश कन्यकाः ।
सर्वाः किशोरवयसो ददर्शोत्पलगन्धयः ॥ २६ ॥
नेपाली भावानुवादः सरोवरमा डुबुल्की मार्ने बित्तिकै उनले त्यहाँभित्रको महलमा एक हजार कन्याहरू देखिन्। ती सबै किशोरी अवस्थाका थिए र उनीहरूको शरीरबाट कमलको सुगन्ध आइरहेको थियो ।।२६।।
 
ताँ दृष्ट्वा सहसोत्थाय प्रोचुः प्राञ्जलयः स्त्रियः ।
वयं कर्मकरीस्तुभ्यं शाधि नः करवाम किम् ॥ २७ ॥
नेपाली भावानुवादः देवहूतिलाई देख्ने बित्तिकै ती कन्याहरूले उठेर हात जोड्दै भने— "हामी हजुरका दासीहरू हौँ, आज्ञा दिनुहोस् हामीले हजुरको के सेवा गर्नुपर्छ?" ।।२७।।
 
स्नानेन तां महार्हेण स्नापयित्वा मनस्विनीम् ।
दुकूले निर्मले नूत्ने ददुरस्यै च मानदाः ॥ २८ ॥
नेपाली भावानुवादः ती कन्याहरूले देवहूतिलाई बहुमूल्य सुगन्धित द्रव्यहरूले स्नान गराए र लगाउनका लागि दुईवटा नयाँ रेशमी वस्त्रहरू दिए ।।२८।।
 
भूषणानि परार्ध्यानि वरीयांसि द्युमन्ति च । अ
न्नं सर्वगुणोपेतं पानं चैवामृतासवम् ॥ २९ ॥
नेपाली भावानुवादः त्यसपछि उनीहरूले अत्यन्तै सुन्दर आभूषणहरूले देवहूतिलाई सजाए र अमृत समान स्वादिष्ट भोजन तथा पेय पदार्थहरू अर्पण गरे ।।२९।।
 
अथादर्शे स्वमात्मानं स्रग्विणं विरजाम्बरम् ।
विरजं कृतस्वस्त्ययनं कन्याभिर्बहुमानितम् ॥ ३० ॥
नेपाली भावानुवादः जब देवहूतिले ऐनामा आफ्नो प्रतिबिम्ब देखिन्, तब आफूलाई सुगन्धित मालाहरू र स्वच्छ वस्त्रले सुसज्जित पाइन्। ती कन्याहरूले उनलाई अत्यन्त श्रद्धापूर्वक सिँगारिदिएका थिए ।।३०।।
 
स्नातं कृतशिरःस्नानं सर्वाभरणभूषितम् ।
निष्कग्रीवं वलयिनं कूजत् काञ्चननूपुरम् ॥ ३१ ॥
नेपाली भावानुवादः शिरदेखि पाउसम्म स्नान गरेपछि उनलाई सबै प्रकारका गहनाले सजाइएको थियो। उनको गलामा सुनको हार, हातमा कङ्कण र खुट्टामा मधुर स्वर निकाल्ने सुनका पाउजेबहरू थिए ।।३१।।
 
श्रोण्योरध्यस्तया काञ्च्या काञ्चन्या बहुरत्नया ।
हारण च महार्हेण रुचकेन च भूषितम् ॥ ३२ ॥
नेपाली भावानुवादः कम्मरमा बहुमूल्य रत्नजडित पटुका (करधनी) र छातीमा सुन्दर हारले गर्दा उनको अपूर्व शोभा देखिन्थ्यो ।।३२।।
 
सुदता सुभ्रुवा श्लक्ष्ण स्निग्धापाङ्गेन चक्षुषा ।
पद्मकोशस्पृधा नीलैः अलकैश्च लसन्मुखम् ॥ ३३ ॥
नेपाली भावानुवादः मिलेका दाँत, राम्रा आँखीभौं, कमलको पात जस्तै सुन्दर नेत्र र गाढा नीलो रङ्गको केशले गर्दा उनको मुखमण्डल अत्यन्त कान्तिमान देखिएको थियो ।।३३।।
 
यदा सस्मार ऋषभं ऋषीणां दयितं पतिम् ।
तत्र चास्ते सह स्त्रीभिः यत्रास्ते स प्रजापतिः ॥ ३४ ॥
नेपाली भावानुवादः जब देवहूतिले आफ्ना प्रिय पति कर्दमजीको स्मरण गरिन्, तब आफूलाई ती हजारौँ कन्याहरूसहित मुनि विराजिरहनुभएको स्थानमै पाइन् ।।३४।।
 
भर्तुः पुरस्तादात्मानं स्त्रीसहस्रवृतं तदा ।
निशाम्य तद्योगगतिं संशयं प्रत्यपद्यत ॥ ३५ ॥
नेपाली भावानुवादः एकै क्षणमा हजारौँ सुन्दरीहरूसहित आफूलाई पतिको अगाडि उभिएको देख्दा देवहूतिलाई मुनिको योग-प्रभाव देखेर ठुलो आश्चर्य लाग्यो ।।३५।।
 
स तां कृतमलस्नानां विभ्राजन्तीमपूर्ववत् ।
आत्मनो बिभ्रतीं रूपं संवीतरुचिरस्तनीम् ॥ ३६ ॥
नेपाली भावानुवादः हे शत्रुविजयी विदुर! कर्दमजीले जब देवहूतिलाई देख्नुभयो, उनी स्नानपश्चात् अत्यन्त निर्मल र कान्तिमान देखिएकी थिइन्। उनको रूप विवाहका बेलाको जस्तै जवान र आकर्षक भएको थियो ।।३६।।
 
विद्याधरीसहस्रेण सेव्यमानां सुवाससम् ।
जातभावो विमानं तद् आरोहयद् अमित्रहन् ॥ ३७ ॥
नेपाली भावानुवादः हजारौँ विद्याधरीहरूले सेवा गरिरहेको र सुन्दर वस्त्र लगाएकी देवहूतिलाई देखेर मुनिले प्रेमपूर्वक उनलाई विमानमा चढाउनुभयो ।।३७।।
 
तस्मिन् अलुप्तमहिमा प्रिययानुरक्तो
विद्याधरीभिरुपचीर्णवपुर्विमाने ।
बभ्राज उत्कचकुमुद्गणवानपीच्यः
ताराभिरावृत इव उडुपतिः नभःस्थः ॥ ३८ ॥
नेपाली भावानुवादः आफ्नी पत्नीप्रति अनुरक्त भए तापनि कर्दमजीको योग-महिमा र इन्द्रिय-संयममा कुनै कमी आएन। विमानमा रहेका उनीहरू आकाशमा ताराहरूले घेरिएको चन्द्रमा जस्तै सुशोभित देखिन्थे ।।३८।।
 
तेनाष्टलोकपविहारकुलाचलेन्द्र
    द्रोणीष्वनङ्गसखमारुतसौभगासु ।
सिद्धैर्नुतो द्युधुनिपातशिवस्वनासु
    रेमे चिरं धनदवल्ललनावरूथी ॥ ३९ ॥
नेपाली भावानुवादः त्यस विमानमा बसेर उनीहरूले लामो समयसम्म मेरुपर्वतका कन्दराहरूमा विहार गरे, जहाँ लोकपालहरू आनन्द मनाउँछन्। त्यहाँ कामदेवलाई जगाउने शीतल हावा चल्दथ्यो र गङ्गाजीको जलप्रपातको मधुर स्वर सुनिन्थ्यो। सिद्धहरूले मुनिको वन्दना गरिरहेका थिए ।।३९।।
 
अनुष्टुप
वैश्रम्भके सुरसने नन्दने पुष्पभद्रके ।
मानसे चैत्ररथ्ये च स रेमे रामया रतः ॥ ४० ॥
नेपाली भावानुवादः यसरी उनले देवहूतिसँग वैश्रम्भक, सुरसेन, नन्दन, पुष्पभद्र र चैत्ररथ जस्ता दिव्य वनहरू तथा मानसरोवरमा प्रेमपूर्वक विहार गरे ।।४०।।
 
भ्राजिष्णुना विमानेन कामगेन महीयसा ।
वैमानिकानत्यशेत चरन् लोकान यथानिलः ॥ ४१ ॥
नेपाली भावानुवादः इच्छा अनुसार चल्ने त्यस कान्तिमान विमानमा बसेर वायु झैँ सबै लोकमा विचरण गर्दा कर्दमजी अन्य देवताहरूभन्दा पनि बढी वैभवशाली देखिए ।।४१।।
 
किं दुरापादनं तेषां पुंसां उद्दामचेतसाम् ।
यैराश्रितस्तीर्थपदः चरणो व्यसनात्ययः ॥ ४२ ॥
नेपाली भावानुवादः हे विदुर! जसले भगवान्‌को परम पावन चरणकमलको आश्रय लिएका छन्, ती दृढ निश्चयी पुरुषका लागि संसारमा कुन चाहिँ वस्तु दुर्लभ छ र? ।।४२।।
 
प्रेक्षयित्वा भुवो गोलं पत्न्यै यावान् स्वसंस्थया ।
बह्वाश्चर्यं महायोगी स्वाश्रमाय न्यवर्तत ॥ ४३ ॥
नेपाली भावानुवादः यसप्रकार महायोगी कर्दमजीले आफ्नी पत्नीलाई सारा भूमण्डल र यसका आश्चर्यहरू देखाएर पुन: आफ्नै आश्रममा फर्किए ।।४३।।
 
विभज्य नवधाऽऽत्मानं मानवीं सुरतोत्सुकाम् ।
रामां निरमयन् रेमे वर्षपूगान् मुहूर्तवत् ॥ ४४ ॥
नेपाली भावानुवादः त्यसपछि मुनिले आफूलाई नौ रूपमा विभाजित गरेर देवहूतिलाई सुख प्रदान गर्दै वर्षौँसम्म विहार गर्नुभयो, तर उनीहरूका लागि त्यो लामो समय एक क्षण जस्तै बितेर गयो ।।४४।।
 
तस्मिन् विमान उत्कृष्टां शय्यां रतिकरीं श्रिता ।
न चाबुध्यत तं कालम पत्यापीच्येन सङ्गता ॥ ४५ ॥
नेपाली भावानुवादः विमानको सुन्दर ओछ्यानमा आफ्ना अति सुन्दर् पतिसँग समय बिताउँदा देवहूतिले समय बितेको पत्तै पाइनन् ।।४५।।
 
एवं योगानुभावेन दम्पत्यो रममाणयोः ।
शतं व्यतीयुः शरदः कामलालसयोर्मनाक् ॥ ४६ ॥
नेपाली भावानुवादः यसरी योगको प्रभावले गर्दा ती दम्पतीले सयौँ वर्ष विहार गरे तापनि उनीहरूलाई त्यो समय थोरै मात्र लागेको थियो ।।४६।।
 
तस्यां आधत्त रेतस्तां भावयन् आत्मनाऽऽत्मवित् ।
नोधा विधाय रूपं स्वं सर्वसङ्कल्पविद्विभुः ॥ ४७ ॥
नेपाली भावानुवादः आत्मज्ञानी कर्दमजीले देवहूतिलाई सन्तानको इच्छा भएको बुझेर आफ्नो शरीरलाई नौ भागमा विभक्त गरी पत्नीको गर्भमा वीर्य स्थापित गर्नुभयो ।।४७।।
 
अतः सा सुषुवे सद्यो देवहूतिः स्त्रियः प्रजाः ।
सर्वास्ताश्चारुसर्वाङ्ग्यो लोहितोत्पलगन्धयः ॥ ४८ ॥
नेपाली भावानुवादः त्यसपछि देवहूतिले एकैपटक नौ जना छोरीहरूलाई जन्म दिइन्। ती सबै अत्यन्त सुन्दरी थिए र उनीहरूको शरीरबाट रातो कमलको सुगन्ध आउँदथ्यो ।।४८।।
 
पतिं सा प्रव्रजिष्यन्तं तदाऽऽलक्ष्योशती बहिः ।
स्मयमाना विक्लवेन हृदयेन विदूयता ॥ ४९ ॥
लिखन्त्यधोमुखी भूमिं पदा नखमणिश्रिया ।
उवाच ललितां वाचं निरुध्याश्रुकलां शनैः ॥ ५० ॥
नेपाली भावानुवादः जब देवहूतिले आफ्ना पति पूर्व प्रतिज्ञा अनुसार सन्न्यास लिन वन जान लागेको देखिन्, तब उनी निकै व्याकुल भइन्। उनले शिर निहुँराएर खुट्टाको औँलाले भुईँ खोस्रिँदै आफ्ना आँसु रोकेर मधुर वाणीमा बिन्ती गरिन् ।।४९-५०।।
 
देवहूतिरुवाच
सर्वं तद्भगवान् मह्यं उपोवाह प्रतिश्रुतम् ।
अथापि मे प्रपन्नाया अभयं दातुमर्हसि ॥ ५१ ॥
नेपाली भावानुवादः देवहूतिले भन्नुभयोहे स्वामी! हजुरले मलाई दिएका सबै वचनहरू पूरा गर्नुभयो। अब म हजुरको शरणमा छु, मलाई अभयदान (मोक्षको मार्ग) दिनुहोस् ।।५१।।
 
ब्रह्मन् दुहितृभिस्तुभ्यं विमृग्याः पतयः समाः ।
कश्चित्स्यान्मे विशोकाय त्वयि प्रव्रजिते वनम् ॥ ५२ ॥
नेपाली भावानुवादः हे ब्रह्मन्! यी नौ छोरीहरूका लागि सुयोग्य पति खोज्नु पर्नेछ र हजुर वन गएपछि मेरो शोक हटाउनका लागि (मलाई ज्ञान दिनका लागि) कोही हुनुपर्दछ ।।५२।।
 
एतावतालं कालेन व्यतिक्रान्तेन मे प्रभो ।
इन्द्रियार्थप्रसङ्गेन परित्यक्तपरात्मनः ॥ ५३ ॥
नेपाली भावानुवादः हे प्रभो! अहिलेसम्मको मेरो सबै समय इन्द्रियका भोगहरूमा मात्र बित्यो र मैले परमात्माको चिन्तन गर्नै बिर्सिएँ, जुन मेरो लागि निरर्थक भयो ।।५३।।
 
इन्द्रियार्थेषु सज्जन्त्या प्रसङ्गस्त्वयि मे कृतः ।
अजानन्त्या परं भावं तथाप्यस्तु अभयाय मे ॥ ५४ ॥
नेपाली भावानुवादः हजुरको दिव्य प्रभाव नबुझी मैले केवल शारीरिक सुखका लागि हजुरसँग प्रेम गरेँ, तापनि हजुर जस्ता महापुरुषको सङ्गतले मलाई संसारको डरबाट मुक्ति दिलाउनुपर्छ ।।५४।।
 
सङ्गो यः संसृतेर्हेतुः असत्सु विहितोऽधिया ।
स एव साधुषु कृतो निःसङ्गत्वाय कल्पते ॥ ५५ ॥
नेपाली भावानुवादः अज्ञानतापूर्वक गरिएको खराब मानिसको सङ्गतले संसारको बन्धनमा पार्छ, तर त्यही सङ्गत यदि सत्पुरुषसँग गरियो भने त्यसले मोक्ष र वैराग्य प्रदान गर्दछ ।।५५।।
 
नेह यत्कर्म धर्माय न विरागाय कल्पते ।
न तीर्थपदसेवायै जीवन्नपि मृतो हि सः ॥ ५६ ॥
नेपाली भावानुवादः संसारमा जसको कर्मले न त धर्म हुन्छ, न वैराग्य र न भगवान्‌को सेवा नै हुन्छ, त्यो मानिस जीवित भएर पनि मरेतुल्य हो ।।५६।।
 
साहं भगवतो नूनं वञ्चिता मायया दृढम् ।
यत्त्वां विमुक्तिदं प्राप्य न मुमुक्षेय बन्धनात् ॥ ५७ ॥
नेपाली भावानुवादः म पक्कै पनि भगवान्‌को मायाले ठगिएकी छु; किनकि हजुर जस्तो मुक्तिदाता पति पाएर पनि मैले सांसारिक बन्धनबाट छुट्ने इच्छा गरिनँ ।।५७।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे त्रयोविंशोऽध्यायः ॥ २३ ॥
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

यस अध्यायमा कर्दम मुनि र देवहूतिको गृहस्थ जीवन र उनीहरूको दिव्य विहारको वर्णन गरिएको छ। माता-पिता फर्केपछि देवहूतिले अत्यन्त श्रद्धाका साथ आफ्ना पतिको सेवा गर्न थालिन्। उनले आफ्नो शरीरको वास्ता नगरी भवानीले शिवको सेवा गरेझैँ मुनिको सेवा गरिन्। देवहूतिको कठोर व्रत र सेवाबाट प्रसन्न भएर कर्दम मुनिले उनलाई वरदान दिन चाहनुभयो। मुनिले आफ्नो तपस्याबाट प्राप्त भएका दिव्य र अक्षय सुखहरू देवहूतिलाई देखाउनुभयो। मुनिले भन्नुभयो कि पतिव्रता धर्मको पालन गर्नाले देवहूतिले ती सबै सुख भोग्ने अधिकार पाएकी छिन्। देवहूतिले मुनिको शक्ति बुझेर आफ्ना लागि एउटा दिव्य भवन र सन्तान सुखको माग गरिन्। मुनिले तत्कालै आफ्नो योगबलले आकाशमा उड्ने एक विशाल र वैभवशाली विमान निर्माण गर्नुभयो। त्यो विमान सबै प्रकारका रत्नमणि र आधुनिक सुख-सुविधाहरूले सम्पन्न थियो। विमानमा बगैँचाजलाशय र विभिन्न कोठाहरू निकै कलात्मक रूपमा बनाइएका थिए। देवहूति आफ्नो मैलो शरीरका कारण विमानमा चढ्न हच्किएकी थिइन्। मुनिले उनलाई विन्दु सरोवरमा स्नान गर्न आज्ञा दिनुभयो। सरोवरमा डुबुल्की मार्ने बित्तिकै देवहूतिले त्यहाँ एक हजार दिव्य कन्याहरू देखिन्। ती कन्याहरूले देवहूतिलाई सुगन्धित द्रव्यले स्नान गराई बहुमूल्य वस्त्र र गहनाले सजाइदिए। स्नानपछि देवहूतिको रूप फेरि नवयौवना सुन्दरीको जस्तै भयो। मुनिको योगशक्तिले देवहूति तत्कालै विमानमा आफ्ना पतिको अगाडि पुगिन्। कर्दम मुनि र देवहूतिले त्यस विमानमा बसेर पृथ्वीका विभिन्न सुन्दर स्थानहरूको भ्रमण गरे। उनीहरूले सुमेरु पर्वतमानसरोवर र विभिन्न दिव्य वनहरूमा विहार गरे। मुनिले आफूलाई नौ रूपमा विभाजित गरेर देवहूतिलाई गृहस्थ सुख प्रदान गर्नुभयो। उनीहरूले सयौँ वर्षसम्म विहार गरे तापनि योगको प्रभावले त्यो समय निकै छोटो लाग्यो। समय पुगेपछि देवहूतिले एकैसाथ नौ जना सुन्दरी छोरीहरूलाई जन्म दिइन्। छोरीहरूको जन्मपछि मुनिले आफ्नो पूर्व प्रतिज्ञा अनुसार सन्न्यास लिने निर्णय गर्नुभयो। मुनि वन जान लागेको देखेर देवहूति निकै चिन्तित र भावुक भइन्। उनले छोरीहरूको विवाह र आफ्नो आत्मज्ञानको बारेमा मुनिसँग प्रश्न गरिन्। देवहूतिले स्वीकार गरिन् कि उनले यति लामो समय केवल शारीरिक सुखमा बिताइन्। उनले महापुरुषको सङ्गतले कसरी मोक्ष प्राप्त हुन्छ भन्ने कुराको चर्चा गरिन्। देवहूतिले मुनिसँग आफूलाई संसारको बन्धनबाट मुक्त गराउन प्रार्थना गरिन्। उनले आफू भगवान्‌को मायाले मोहित भएको र बल्ल चेत खुलेको बताइन्। यस अध्यायले गृहस्थ जीवनको उत्कर्ष र त्यसपछिको वैराग्यको आवश्यकतालाई देखाउँछ। अन्त्यमा देवहूतिको प्रार्थनाले मुनिको मनमा करुणा पैदा भएको सङ्केत मिल्दछ।

दार्शनिक पक्ष

यस अध्यायले देखाउँछ कि योग र तपस्याको शक्तिबाट असम्भव कुरा पनि सम्भव हुन्छ। भौतिक सुख (विमान र ऐश्वर्य) योगको एउटा सानो फल मात्र होवास्तविक लक्ष्य त मोक्ष नै हो। 'सत्सङ्गको महत्त्वलाई यहाँ विशेष जोड दिइएको छसत्पुरुषको सङ्गतले नै वैराग्य उत्पन्न गराउँछ। स्त्री र पुरुषको गृहस्थ सम्बन्ध केवल भोगका लागि नभई धर्म र वंश वृद्धिका लागि हुनुपर्छ। इन्द्रिय सुख क्षणिक हुन्छ र यसले मानिसलाई समय बितेको पत्तै दिँदैन भन्ने कुरा सयौँ वर्षको विहारबाट बुझिन्छ। मानिसले जतिसुकै ऐश्वर्य भोग गरे पनि अन्त्यमा शान्तिका लागि अध्यात्ममै फर्कनुपर्छ। देवहूतिको पश्चात्तापले देखाउँछ कि आत्मज्ञान विनाको जीवन 'जीवित मृतसमान हो। भगवान्‌को माया यति बलियो छ कि यसले विद्वान्‌लाई पनि मोहित पार्न सक्छ। पति र पत्नी एक-अर्काको आध्यात्मिक उन्नतिका लागि सहयोगी हुनुपर्छ भन्ने सन्देश यहाँ पाइन्छ। पूर्ण वैराग्य प्राप्त नभएसम्म सांसारिक बन्धनबाट मुक्ति सम्भव छैन भन्ने यसको मुख्य दर्शन हो।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...