श्रीमद्भागवत महापुराण
सप्तमः स्कंधः - नवमोऽध्यायः
नोपैतुमशकन्मन्युसंरम्भं सुदुरासदम् ॥ १ ॥
नेपाली भावानुवादः नारदजीले भन्नुभयो– यसरी ब्रह्मा र रुद्रलाई अघि लगाएर आएका सबै सुरादि देवगणहरूले भगवान् नृसिंहको अत्यन्त दुःसह क्रोधमय रूपको नजिक जाने साहस गर्न सकेनन् ।।१।।
अदृष्टाश्रुतपूर्वत्वात् सा नोपेयाय शङ्किता ॥ २ ॥
नेपाली भावानुवादः देवताहरूले साक्षात् लक्ष्मीजीलाई भगवान्लाई शान्त पार्न पठाए; तर उनले पनि भगवान्को त्यो पहिले कहिल्यै नदेखेको र नसुनेको महान् अद्भुत रूप देखेर डराएकाले नजिक जान सकिनन् ।।२।।
तात प्रशमयोपेहि स्वपित्रे कुपितं प्रभुम् ॥ ३ ॥
नेपाली भावानुवादः त्यसपछि ब्रह्माजीले आफ्नो नजिकै उभिएका प्रह्लादलाई सम्झाउँदै भन्नुभयो– "हे वत्स! तिम्रा पिताप्रति अत्यन्त क्रोधित हुनुभएका प्रभुलाई तिमी नै गएर शान्त पार" भनी पठाउनुभयो ।।३।।
उपेत्य भुवि कायेन ननाम विधृताञ्जलिः ॥ ४ ॥
नेपाली भावानुवादः हे राजन्! ती महाभागवत बालक प्रह्लादले "हुन्छ" भनी स्वीकार गरेर बिस्तारै भगवान्को समीप गए र हात जोडेर साष्टाङ्ग दण्डवत् प्रणाम गरे ।।४।।
स्वपादमूले पतितं तमर्भकं
विलोक्य देवः कृपया परिप्लुतः ।
उत्थाप्य तच्छीर्ष्ण्यदधात् कराम्बुजं
कालाहिवित्रस्तधियां कृताभयम् ॥ ५ ॥
नेपाली भावानुवादः आफ्नो चरणकमलमा परेको त्यो बालकलाई देखेर भगवान् कृपाले गद्गद हुनुभयो। उहाँले प्रह्लादलाई उठाएर कालसर्पबाट भयभीत भएकाहरूको बुद्धिमा अभय प्रदान गर्ने आफ्नो करकमल उनको शिरमा राखिदिनुभयो ।।५।।
स तत्करस्पर्शधुताखिलाशुभः
सपद्यभिव्यक्तपरात्मदर्शनः ।
तत्पादपद्मं हृदि निर्वृतो दधौ
हृष्यत्तनुः क्लिन्नहृदश्रुलोचनः ॥ ६ ॥
नेपाली भावानुवादः भगवान्को त्यो करकमलको स्पर्शले गर्दा प्रह्लादका सम्पूर्ण अशुभ संस्कारहरू तत्कालै नष्ट भए र उनलाई परमात्मतत्त्वको साक्षात्कार भयो। आनन्दले शरीर पुलकित भयो, हृदय प्रेमले भरियो र आँखाबाट आँसु बग्न थाले। उनले अत्यन्त शान्त भएर भगवान्को चरणकमललाई आफ्नो हृदयमा धारण गरे ।।६।।
प्रेमगद्गदया वाचा तन्न्यस्तहृदयेक्षणः ॥ ७ ॥
नेपाली भावानुवादः आफ्नो हृदय र दृष्टि भगवान्मै अर्पण गरेका प्रह्लादले एकाग्र मन र पूर्ण समाहित भएर प्रेमपूर्ण वाणीले भगवान्को स्तुति गर्न थाले ।।७।।
प्रह्राद उवाच –
ब्रह्मादयः सुरगणा मुनयोऽथ सिद्धाः
सत्त्वैकतानमतयो वचसां प्रवाहैः ।
नाराधितुं पुरुगुणैः अधुनापि पिप्रुः
किं तोष्टुमर्हति स मे हरिरुग्रजातेः ॥ ८ ॥
नेपाली भावानुवादः प्रह्लादले भने– नित्य सत्त्वगुणमा एकाग्र बुद्धि भएका ब्रह्मादि देवता, मुनि र सिद्धहरूले समेत आफ्नो स्तुति र गुणगानको प्रवाहद्वारा अहिलेसम्म तपाईंलाई पूर्ण रूपमा प्रसन्न पार्न सकेका छैनन् भने म जस्तो असुर कुलमा जन्मेको बालकले तपाईंलाई कसरी सन्तुष्ट पार्न सकूँला र? ।।८।।
तेजःप्रभावबलपौरुषबुद्धियोगाः ।
नाराधनाय हि भवन्ति परस्य पुंसो
भक्त्या तुतोष भगवान् गजयूथपाय ॥ ९ ॥
नेपाली भावानुवादः धन, कुलीनता, रूप, तप, पाण्डित्य, इन्द्रियशक्ति, तेज, प्रभाव, बल, पुरुषार्थ, बुद्धि र योग– यी बाह्र गुणहरू परमेश्वरको आराधनाका लागि पर्याप्त छैनन् भन्ने म ठान्दछु। किनकि भगवान् त केवल भक्तिले मात्र गजेन्द्रमाथि प्रसन्न हुनुभएको थियो ।।९।।
पादारविन्दविमुखात् श्वपचं वरिष्ठम् ।
मन्ये तदर्पितमनोवचनेहितार्थ
प्राणं पुनाति स कुलं न तु भूरिमानः ॥ १० ॥
नेपाली भावानुवादः हे कमलनाभ! माथि उल्लिखित बाह्र गुणले युक्त भएर पनि यदि ब्राह्मण तपाईंको चरणकमलबाट विमुख छ भने, त्योभन्दा त आफ्नो मन, वचन, कर्म र प्राण तपाईंमा समर्पित गर्ने चाण्डाल नै श्रेष्ठ छ भन्ने म मान्दछु; किनकि उसले आफ्नो कुललाई समेत पवित्र बनाउँछ, तर अहङ्कारी ब्राह्मणले त आफूलाई पनि पवित्र राख्न सक्दैन ।।१०।।
मानं जनादविदुषः करुणो वृणीते ।
यद् यज्जनो भगवते विदधीत मानं
तच्चात्मने प्रतिमुखस्य यथा मुखश्रीः ॥ ११ ॥
नेपाली भावानुवादः हे सर्वशक्तिमान् प्रभु! तपाईं आफ्नो स्वरूपको आनन्दले नै पूर्ण हुनुहुन्छ। अज्ञानी मानिसले गर्ने पूजाको तपाईंलाई कुनै अपेक्षा छैन। तर कृपालु भएकाले भक्तले गरेको पूजालाई स्वीकार गर्नुहुन्छ। जसरी ऐनामा देखिएको अनुहारको प्रतिबिम्बको शोभा आफ्नै अनुहारको शोभा हो, त्यसरी नै भक्तले भगवान्लाई गर्ने सम्मान वास्तवमा उसैको हितका लागि हुन्छ ।।११।।
सर्वात्मना महि गृणामि यथा मनीषम् ।
नीचोऽजया गुणविसर्गमनुप्रविष्टः
पूयेत येन हि पुमान् अनुवर्णितेन ॥ १२ ॥
नेपाली भावानुवादः त्यसैले म नीच कुलमा जन्मेको भए तापनि आफ्नो संकोच त्यागेर आफ्नो बुद्धिले भ्याएसम्म तपाईंको महिमा वर्णन गर्दछु। अविद्याका कारण संसारचक्रको गुण–दोषमा फसेको जीव तपाईंको महिमाको संकीर्तनले नै पवित्र हुन सक्दछ ।।१२।।
ब्रह्मादयो वयमिवेश न चोद्विजन्तः ।
क्षेमाय भूतय उतात्मसुखाय चास्य
विक्रीडितं भगवतो रुचिरावतारैः ॥ १३ ॥
नेपाली भावानुवादः हे ईश्वर! सत्त्वगुणका धाम तपाईं हुनुहुन्छ। यी ब्रह्मादि सबै देवताहरू तपाईंका आज्ञाकारी सेवक हुन्। उनीहरू हामी जस्ता असुरहरू झैँ द्वेष गर्दैनन्। प्रभु! तपाईंले विश्वको कल्याण, ऐश्वर्य र आत्मसुखका लागि नै यस्ता सुन्दर अवतारहरू ग्रहण गरी नाना प्रकारका लीलाहरू गर्नुहुन्छ ।।१३।।
मोदेत साधुरपि वृश्चिकसर्पहत्या ।
लोकाश्च निर्वृतिमिताः प्रतियन्ति सर्वे
रूपं नृसिंह विभयाय जनाः स्मरन्ति ॥ १४ ॥
नेपाली भावानुवादः हे प्रभु! अब आफ्नो क्रोध शान्त गर्नुहोस्, किनकि आज त्यो असुर मारिइसकेको छ। बिच्छी वा सर्पको हत्याले समेत सज्जनहरू आनन्दित हुन्छन्; त्यसरी नै यो दैत्य मारिँदा सबै लोकले शान्ति पाएका छन्। हे नृसिंहदेव! तपाईंको यो भयङ्कर रूपबाट मुक्त हुनका लागि भक्तहरूले यसको स्मरण गर्दछन् ।।१४।।
जिह्वार्कनेत्र भ्रुकुटीरभसोग्रदंष्ट्रात् ।
आन्त्रस्रजःक्षतजकेशरशङ्कुकर्णान्
निर्ह्रादभीतदिगिभादरिभिन्नखाग्रात् ॥ १५ ॥
नेपाली भावानुवादः हे अजित! तपाईंका लपलपाइरहेको जिब्रो, सूर्य जस्ता तेजस्वी आँखा, क्रोधित भ्रकुटी, उग्र दाह्रा, आन्द्राको माला, रगतले लतपतिएको रौं, भाला जस्ता कान, दिग्गजोंलाई समेत तर्साउने गर्जन र शत्रुको छाती चिर्ने नङ्ग्रा देखेर म कति पनि डराएको छैन ।।१५।।
संसारचक्रकदनाद् ग्रसतां प्रणीतः ।
बद्धः स्वकर्मभिरुशत्तम तेऽङ्घ्रिमूलं
प्रीतोऽपवर्गशरणं ह्वयसे कदा नु ॥ १६ ॥
नेपाली भावानुवादः हे दीनबन्धु! म त केवल यो दुःसह र उग्र संसारचक्रको पीडादेखि डराएको छु। म आफ्नै कर्मपाशमा बाँधिएर यी हिंस्रक प्राणीहरूका बीचमा फालिएको छु। हे प्रभु! तपाईं प्रसन्न भएर मलाई कहिले आफ्नो मोक्षस्वरूप चरणकमलमा बोलाउनुहुन्छ? ।।१६।।
शोकाग्निना सकलयोनिषु दह्यमानः ।
दुःखौषधं तदपि दुःखमतद्धियाहं
भूमन्भ्रमामि वद मे तव दास्ययोगम् ॥ १७ ॥
नेपाली भावानुवादः हे भूमन्! म जुन जुन योनिमा जन्मिएँ, त्यहाँ प्रियको वियोग र अप्रियको संयोगबाट उत्पन्न शोकको आगोमा जलिरहेको छु। ती दुःख हटाउन गरिने उपायहरू (औषधिहरू) पनि स्वयं दुःखरूप नै छन्। म यसै भ्रममा भड्किरहेको छु, त्यसैले मलाई तपाईंको दासत्व प्राप्त हुने योग बताइदिनुहोस् ।।१७।।
लीलाकथास्तव नृसिंह विरिञ्चगीताः ।
अञ्जस्तितर्म्यनुगृणन् गुणविप्रमुक्तो
दुर्गाणि ते पदयुगालयहंससङ्गः ॥ १८ ॥
नेपाली भावानुवादः हे नृसिंह! तपाईं हाम्रा परम प्रिय सुहृद् र इष्टदेव हुनुहुन्छ। म ब्रह्माजीले गाउनुभएका तपाईंका लीला–कथाहरूको कीर्तन गर्दै र तपाईंका चरणकमलमा आश्रित परमहंसहरूको सङ्गत गरेर प्राकृतिक गुणहरूबाट मुक्त भई यो संसारको कठिन भवसागरलाई सजिलै पार गर्नेछु ।।१८।।
नार्तस्य चागदमुदन्वति मज्जतो नौः ।
तप्तस्य तत्प्रतिविधिर्य इहाञ्जसेष्टः
तावद् विभो तनुभृतां त्वदुपेक्षितानाम् ॥ १९ ॥
नेपाली भावानुवादः हे विभो! तपाईंले उपेक्षा गर्नुभयो भने यहाँ बालकको रक्षाका लागि मातापिता, रोगीका लागि औषधि र समुद्रमा डुब्न लागेकाका लागि डुङ्गा पनि समर्थ हुँदैनन्। संसारका दुःख निवारणका लागि मानिएका यी उपायहरू तपाईंका कृपा बिना क्षणिक र व्यर्थ छन् ।।१९।।
यस्मै यथा यदुत यस्त्वपरः परो वा ।
भावः करोति विकरोति पृथक्स्वभावः
सञ्चोदितस्तदखिलं भवतः स्वरूपम् ॥ २० ॥
नेपाली भावानुवादः हे प्रभु! गुणका कारण भिन्न–भिन्न स्वभाव भएका कर्ताहरूले जुन आधारमा, जसरी र जुन प्रयोजनका लागि जे जति कार्य गर्दछन् वा परिवर्तन गर्दछन्, ती सबै तपाईंकै प्रेरणाले हुन्छन्। अतः यो सम्पूर्ण चराचर जगत् तपाईंकै स्वरूप हो ।।२०।।
कालेन चोदितगुणानुमतेन पुंसः ।
छन्दोमयं यदजयार्पितषोडशारं
संसारचक्रमज कोऽतितरेत् त्वदन्यः ॥ २१ ॥
नेपाली भावानुवादः हे अजन्मा! कालद्वारा प्रेरित गुणहरूको माध्यमबाट तपाईंको मायाले कर्ममय र बलवान् मनको सिर्जना गर्दछे। पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, पाँच तन्मात्रा र एक मन गरी सोह्र आरा भएको यो संसारचक्रलाई तपाईं बाहेक अरू कसले पार लगाउन सक्दछ र? ।।२१।।
कालो वशीकृतविसृज्यविसर्गशक्तिः ।
चक्रे विसृष्टमजयेश्वर षोडशारे
निष्पीड्यमानमुपकर्ष विभो प्रपन्नम् ॥ २२ ॥
नेपाली भावानुवादः हे सर्वशक्तिमान्! तपाईंले आफ्नो स्वरूपशक्तिद्वारा मायाका गुणहरूलाई जित्नुभएको छ। तपाईं कालरूपले सम्पूर्ण सृष्टि र संहार शक्तिलाई वशमा राख्नुहुन्छ। यो सोह्र आरा भएको संसारचक्रमा पेलिरहेको म शरणागतलाई हे विभो! रक्षा गरी आफूतिर खिच्नुहोस् ।।२२।।
दृष्टा मया दिवि विभोऽखिलधिष्ण्यपानाम्
आयुः श्रियो विभव इच्छति यान्जनोऽयम् ।
येऽस्मत्पितुः कुपितहासविजृम्भितभ्रू
विस्फूर्जितेन लुलिताः स तु ते निरस्तः ॥ २३ ॥
नेपाली भावानुवादः हे विभो! सामान्य मानिसले इच्छा गर्ने स्वर्गका लोकपालहरूको आयु, श्री र वैभवलाई मैले नजिकबाट देखेको छु। मेरा पिताको एक पटकको क्रोधपूर्ण हाँसो र भ्रकुटीको सङ्केतले ती सबै वैभवहरू नष्ट हुन्थे; तर त्यस्ता शक्तिशाली पितालाई पनि तपाईंले क्षणभरमै अन्त्य गरिदिनुभयो ।।२३।।
आयुः श्रियं विभवमैन्द्रियमा विरिञ्च्यात् ।
नेच्छामि ते विलुलितानुरुविक्रमेण
कालात्मनोपनय मां निजभृत्यपार्श्वम् ॥ २४ ॥
नेपाली भावानुवादः त्यसैले हे प्रभु! म यो नाशवान् शरीरका लागि ब्रह्माको जस्तो आयु, लक्ष्मी र इन्द्रियभोगको कामना गर्दिनँ। तपाईंका महान् पराक्रमले यी सबै कालान्तरमा नष्ट हुने नै छन्। त्यसैले मलाई आफ्ना अनन्य भक्तहरूको समीपमा लैजानुहोस् ।।२४।।
क्वेदं कलेवरमशेषरुजां विरोहः ।
निर्विद्यते न तु जनो यदपीति विद्वान्
कामानलं मधुलवैः शमयन्दुरापैः ॥ २५ ॥
नेपाली भावानुवादः सुन्दा राम्रो लाग्ने तर मृगतृष्णा जस्ता यी क्षणभङ्गुर विषयभोगहरू कहाँ र अनेक रोगहरूको भण्डार यो शरीर कहाँ! यी दुवैको असारता बुझेर पनि मानिसहरू विरक्त हुँदैनन् र दुर्लभ विषयसुखका स–साना थोपाहरूले कामनाको आगोलाई निभाउने व्यर्थ प्रयास गर्दछन् ।।२५।।
जातः सुरेतरकुले क्व तवानुकम्पा ।
न ब्रह्मणो न तु भवस्य न वै रमाया
यन्मेऽर्पितः शिरसि पद्मकरः प्रसादः ॥ २६ ॥
नेपाली भावानुवादः हे ईश! कहाँ तमोगुण प्रधान असुर कुलमा जन्मेको म र कहाँ तपाईंको यो अपार अनुकम्पा! जुन परम प्रसादस्वरूप करकमल तपाईंले मेरो शिरमा राख्नुभयो, त्यो त ब्रह्मा, शङ्कर र लक्ष्मीले समेत कहिल्यै प्राप्त गरेका थिएनन् ।।२६।।
जन्तोर्यथाऽऽत्मसुहृदो जगतस्तथापि ।
संसेवया सुरतरोरिव ते प्रसादः
सेवानुरूपमुदयो न परावरत्वम् ॥ २७ ॥
नेपाली भावानुवादः तपाईं जगतका आत्मा र सुहृद् हुनुभएकाले तपाईंमा सानो–ठूलोको भेदभाव छैन। तैपनि कल्पवृक्षले झैँ सेवाअनुसार नै तपाईंको कृपा प्राप्त हुन्छ। जसले जस्तो सेवा गर्दछ, उसले त्यस्तै फल पाउँछ; यसमा पक्षपातको कुनै कुरा छैन ।।२७।।
कामाभिकाममनु यः प्रपतन् प्रसङ्गात् ।
कृत्वाऽऽत्मसात् सुरर्षिणा भगवन् गृहीतः
सोऽहं कथं नु विसृजे तव भृत्यसेवाम् ॥ २८ ॥
नेपाली भावानुवादः हे भगवन्! यो संसार विषयरूपी सर्पले भरिएको अन्धकारमय कुवा हो। म पनि कुसङ्गतले गर्दा यसमा खस्न लागेको थिएँ, तर देवर्षि नारदले मलाई अपनाएर बचाउनुभयो। अब म तपाईंका ती भक्तहरूको सेवालाई कसरी त्याग्न सक्दछु र? ।।२८।।
मन्ये स्वभृत्यऋषिवाक्यमृतं विधातुम् ।
खड्गं प्रगृह्य यदवोचदसद् विधित्सुः
त्वामीश्वरो मदपरोऽवतु कं हरामि ॥ २९ ॥
नेपाली भावानुवादः हे अनन्त! मेरा पिताले हातमा खड्ग लिएर "म बाहेक अर्को कुन ईश्वर छ? यदि छ भने उसले तँलाई बचाओस्, नत्र म तेरो टाउको काटिदिन्छु" भनी मलाई मार्न खोज्दा तपाईंले मेरो रक्षा र उहाँको वध गर्नुभयो। यो केवल आफ्ना भक्त र ऋषिहरूको वचन सत्य सावित गर्नका लागि नै गर्नुभएको हो भन्ने म ठान्दछु ।।२९।।
आद्यन्तयोः पृथगवस्यसि मध्यतश्च ।
सृष्ट्वा गुणव्यतिकरं निजमाययेदं
नानेव तैरवसितस्तदनुप्रविष्टः ॥ ३० ॥
नेपाली भावानुवादः हे प्रभु! तपाईं नै यो सम्पूर्ण जगत्को एकमात्र स्वरूप हुनुहुन्छ। यसको सृष्टि हुनुभन्दा अघि र प्रलयपछि पनि तपाईं मात्र रहनुहुन्छ। आफ्नै मायाले गुणहरूको क्षोभ उत्पन्न गरी यो जगत् सृष्टि गरेर तपाईं यसैमा अनुप्रविष्ट भई अनेक झैँ प्रतीत हुनुहुन्छ ।।३०।।
त्वं वा इदं सदसदीश भवांस्ततोऽन्यो
माया यदात्मपरबुद्धिरियं ह्यपार्था ।
यद् यस्य जन्म निधनं स्थितिरीक्षणं च
तद् वै तदेव वसुकालवदष्टितर्वोः ॥ ३१ ॥
नेपाली भावानुवादः हे ईश! यो कार्य र कारणको रूपमा जे जति देखिएको छ, ती सबै तपाईं नै हुनुहुन्छ र तपाईं यिनीहरूभन्दा पृथक् पनि हुनुहुन्छ। 'मेरो' र 'अर्काको' भन्ने भेदको बुद्धि नै माया हो, जुन व्यर्थ छ। जसरी बीउ र वृक्षमा एउटै पृथ्वी र रस व्याप्त छ, त्यसरी नै जन्म, स्थिति र लयमा तपाईं नै हुनुहुन्छ ।।३१।।
शेषैऽऽत्मना निजसुखानुभवो निरीहः ।
योगेन मीलितदृगात्मनिपीतनिद्रः
तुर्ये स्थितो न तु तमो न गुणांश्च युङ्क्षे ॥ ३२ ॥
नेपाली भावानुवादः हे प्रभु! प्रलयकालमा यो सम्पूर्ण जगत्लाई आफैँमा समेटेर तपाईं आत्मानन्दमा मग्न भई प्रलयको जलमा शयन गर्नुहुन्छ। त्यस समयमा तपाईं योगनिद्रामा रहेर पनि जाग्रत् रहने तुरीय पदमा स्थित हुनुहुन्छ; जहाँ न तमोगुण हुन्छ, न त अन्य प्राकृतिक गुणहरूको प्रभाव नै ।।३२।।
सञ्चोदितप्रकृतिधर्मण आत्मगूढम् ।
अम्भस्यनन्तशयनाद् विरमत्समाधेः
नाभेरभूत् स्वकणिकावटवन्महाब्जम् ॥ ३३ ॥
नेपाली भावानुवादः तपाईंको कालशक्तिले प्रकृतिको गुणलाई प्रेरित गरेपछि यो ब्रह्माण्ड तपाईंको शरीरका रूपमा प्रकट हुन्छ। अनन्तशय्यामा सुत्नुभएका तपाईंको समाधि खुलेपछि नाभिबाट एउटा ठूलो कमलको फूल प्रकट भयो, जसरी वटवृक्षको सानो बीउबाट विशाल वृक्ष उत्पन्न हुन्छ ।।३३।।
त्वां बीजमात्मनि ततं स बहिर्विचिन्त्य ।
नाविन्ददब्दशतमप्सु निमज्जमानो
जातेऽङ्कुरे कथमु होपलभेत बीजम् ॥ ३४ ॥
नेपाली भावानुवादः त्यो कमलबाट ब्रह्माजी उत्पन्न हुनुभयो। उहाँले कमल बाहेक अरू केही नदेखेपछि बीजरूपमा सर्वत्र व्याप्त तपाईंलाई बाहिर खोज्न थाल्नुभयो र सय वर्षसम्म जलमा डुबुल्की मार्दा पनि पाउनुभएन। टुसा पलाइसकेपछि बीउलाई बाहिर खोजेर कसरी भेट्न सकिन्छ र? ।।३४।।
कालेन तीव्रतपसा परिशुद्धभावः ।
त्वामात्मनीश भुवि गन्धमिवातिसूक्ष्मं
भूतेन्द्रियाशयमये विततं ददर्श ॥ ३५ ॥
नेपाली भावानुवादः ब्रह्माजीले हार मानेर फेरि कमलमै बसेर लामो समयसम्म तीव्र तपस्या गर्नुभयो। तपस्याबाट हृदय शुद्ध भएपछि उहाँले पृथ्वीमा गन्ध झैँ सूक्ष्म रूपमा सबै भूत, इन्द्रिय र अन्तःकरणमा व्याप्त हुनुभएका तपाईंलाई आफ्नै हृदयमा देख्नुभयो ।।३५।।
नासास्यकर्ण नयनाभरणायुधाढ्यम् ।
मायामयं सदुपलक्षितसन्निवेशं
दृष्ट्वा महापुरुषमाप मुदं विरिञ्चः ॥ ३६ ॥
नेपाली भावानुवादः यसरी सहस्रौं मुख, हात, खुट्टा र शिर भएका, दिव्य गहना र शस्त्रले सजिएका विराट् पुरुषलाई देखेर ब्रह्माजीले ठूलो आनन्द प्राप्त गर्नुभयो ।।३६।।
वेदद्रुहावतिबलौ मधुकैटभाख्यौ ।
हत्वाऽऽनयत् श्रुतिगणांश्च रजस्तमश्च
सत्त्वं तव प्रियतमां तनुमामनन्ति ॥ ३७ ॥
नेपाली भावानुवादः पहिले वेदलाई चोरी गर्ने मधु र कैटभ नामक असुरहरूलाई तपाईंले नै हयग्रीव अवतार लिएर वध गर्नुभयो र ब्रह्माजीलाई वेदहरू फिर्ता दिनुभयो। सत्त्वगुण तपाईंको अत्यन्त प्रिय स्वरूप हो, त्यसैले विद्वान्हरू त्यसको स्तुति गर्दछन् ।।३७।।
लोकान् विभावयसि हंसि जगत्प्रतीपान् ।
धर्मं महापुरुष पासि युगानुवृत्तं
छन्नः कलौ यदभवस्त्रियुगोऽथ स त्वम् ॥ ३८ ॥
नेपाली भावानुवादः हे महापुरुष! यसरी नै तपाईंले मनुष्य, पशु, पक्षी, ऋषि, देवता र मत्स्य आदि अवतार लिएर लोकको रक्षा र दुष्टहरूको संहार गर्नुहुन्छ। प्रत्येक युगमा धर्मको रक्षा गर्नुहुन्छ; तर कलियुगमा तपाईं प्रच्छन्न (गुप्त) रूपमा रहनुहुने भएकाले तपाईंलाई 'त्रियुग' भनिन्छ ।।३८।।
सम्प्रीयते दुरितदुष्टमसाधु तीव्रम् ।
कामातुरं हर्षशोकभयैषणार्तं
तस्मिन्कथं तव गतिं विमृशामि दीनः ॥ ३९ ॥
नेपाली भावानुवादः हे वैकुण्ठनाथ! मेरो यो मन पापले कलुषित र दुष्ट छ। यो अनेक कामना, हर्ष, शोक, भय र चिन्ताले व्याकुल भएकाले तपाईंका कथाहरूमा रम्न सक्दैन। यस्तो दीन अवस्थामा म तपाईंको दिव्य स्वरूपको चिन्तन कसरी गरूँ? ।।३९।।
शिश्नोऽन्यतस्त्वगुदरं श्रवणं कुतश्चित् ।
घ्राणोऽन्यतश्चपलदृक् क्व च कर्मशक्तिः
बह्व्यः सपत्न्य इव गेहपतिं लुनन्ति ॥ ४० ॥
नेपाली भावानुवादः हे अच्युत! जसरी धेरै सौताहरूले एउटै पतिलाई आ–आफ्नोतिर तान्दछन्, त्यसरी नै कहिल्यै नअघाउने जिब्रो, इन्द्रिय र अन्य अङ्गहरूले मलाई आ–आफ्ना विषयतिर खिचिरहेका छन् ।।४०।।
अन्योन्यजन्म मरणाशनभीतभीतम् ।
पश्यन्जनं स्वपरविग्रहवैरमैत्रं
हन्तेति पारचर पीपृहि मूढमद्य ॥ ४१ ॥
नेपाली भावानुवादः हे भवसागरबाट पार गराउने प्रभु! आफ्नै कर्मले गर्दा यो संसाररूपी वैतरणी नदीमा खसेका र जन्म–मृत्युको चक्रमा परेर डराएका जीवहरूको दुर्दशा देखेर उनीहरूलाई उद्धार गर्नुहोस्। यो मेरो र यो अर्को भन्ने भेदभावमा फसेका हामी मुढहरूलाई पार लगाउनुहोस् ।।४१।।
उत्तारणेऽस्य भवसम्भवलोपहेतोः ।
मूढेषु वै महदनुग्रह आर्तबन्धो
किं तेन ते प्रियजनाननुसेवतां नः ॥ ४२ ॥
नेपाली भावानुवादः हे जगद्गुरु! संसारको सृष्टि र संहार गर्ने तपाईंलाई हामी जस्ता जीवलाई पार लगाउन कुनै कठिन प्रयास गर्नु पर्दैन। हे आर्तबन्धु! तपाईंका प्रिय भक्तहरूको सेवा गर्ने हामीलाई त संसारको कुनै डर छैन, तर यी अज्ञानी र दीन दुःखीहरूमाथि तपाईंको ठूलो अनुग्रहको आवश्यकता छ ।।४२।।
त्वद्वीर्यगायनमहामृतमग्नचित्तः ।
शोचे ततो विमुखचेतस इन्द्रियार्थ
मायासुखाय भरमुद्वहतो विमूढान् ॥ ४३ ॥
नेपाली भावादुवादः हे प्रभु! मलाई यो डरलाग्दो भवसागरको कुनै चिन्ता छैन, किनकि मेरो चित्त तपाईंको महिमागानरूपी अमृतमा डुबेको छ। तर तपाईंको भजनबाट विमुख भएर इन्द्रियभोग र क्षणिक मायावी सुखका लागि व्यर्थको बोझ बोकिरहेका अज्ञानीहरूका लागि मलाई ठूलो चिन्ता लाग्दछ ।।४३।।
मौनं चरन्ति विजने न परार्थनिष्ठाः ।
नैतान्विहाय कृपणान्विमुमुक्ष एको
नान्यं त्वदस्य शरणं भ्रमतोऽनुपश्ये ॥ ४४ ॥
नेपाली भावानुवादः हे देव! धेरैजसो मुनिहरू आफ्नै मुक्तिका लागि एकान्तमा मौन व्रत बस्छन् र अरूको हितमा ध्यान दिँदैनन्। तर म यी असहाय प्राणीहरूलाई छाडेर एक्लै मोक्ष चाहन्नँ। यस संसारमा भड्किरहेका जीवहरूका लागि तपाईं बाहेक अरू कुनै सहारा छैन ।।४४।।
यन्मैथुनादिगृहमेधिसुखं हि तुच्छं
कण्डूयनेन करयोरिव दुःखदुःखम् ।
तृप्यन्ति नेह कृपणा बहुदुःखभाजः
कण्डूतिवन्मनसिजं विषहेत धीरः ॥ ४५ ॥
नेपाली भावानुवादः गृहस्थीमा पाइने मैथुनादि सुख लुतो कन्याए जस्तै तुच्छ र अन्त्यमा दुःखरूपी नै हुन्छ। लुतो कन्याउँदा सुरुमा आनन्द आए पनि पछि पीडा हुन्छ। तर धीर पुरुषहरूले यस्ता कामनाको वेगलाई लुतो कन्याए झैँ नगरी सहन गर्दछन् र दुःखबाट मुक्त हुन्छन् ।।४५।।
मौनव्रतश्रुततपोऽध्ययनस्वधर्म
व्याख्यारहोजपसमाधय आपवर्ग्याः ।
प्रायः परं पुरुष ते त्वजितेन्द्रियाणां
वार्ता भवन्त्युत न वात्र तु दाम्भिकानाम् ॥ ४६ ॥
नेपाली भावानुवादः हे परमपुरुष! मौन, ब्रह्मचर्य, शास्त्र–श्रवण, तप, स्वाध्याय, स्वधर्म–पालन, व्याख्या, एकान्त, जप र समाधि– यी मोक्षका १० साधन हुन्; तर जसको इन्द्रिय वशमा छैन, उसका लागि यी केवल जीविका चलाउने साधन मात्र हुन्। ढोँगीहरूका लागि त यी झन् व्यर्थ छन् ।।४६।।
बीजाङ्कुराविव न चान्यदरूपकस्य ।
युक्ताः समक्षमुभयत्र विचिन्वते त्वां
योगेन वह्निमिव दारुषु नान्यतः स्यात् ॥ ४७ ॥
नेपाली भावानुवादः वेदले बताएका कार्य र कारण यी दुवै तपाईंका रूप हुन्। जसरी काठभित्र लुकेको अग्निलाई मन्थन गरेर निकालिन्छ, त्यसै गरी योगीहरूले भक्तिद्वारा तपाईंलाई कार्यकारण दुवै रूपमा साक्षात्कार गर्दछन् ।।४७।।
प्राणेन्द्रियाणि हृदयं चिदनुग्रहश्च ।
सर्वं त्वमेव सगुणो विगुणश्च भूमन्
नान्यत् त्वदस्त्यपि मनोवचसा निरुक्तम् ॥ ४८ ॥
नेपाली भावानुवादः हे भूमन्! वायु, अग्नि, पृथ्वी, आकाश, जल, तन्मात्रा, प्राण, इन्द्रिय, मन र बुद्धि– यी सबै तपाईं नै हुनुहुन्छ। सगुण होस् वा निर्गुण, मन र वाणीले जे जति व्यक्त गर्न सकिन्छ, ती सबै तपाईंभन्दा भिन्न छैनन् ।।४८।।
सर्वे मनः प्रभृतयः सहदेवमर्त्याः ।
आद्यन्तवन्त उरुगाय विदन्ति हि त्वाम्
एवं विमृश्य सुधियो विरमन्ति शब्दात् ॥ ४९ ॥
नेपाली भावानुवादः हे महिमाशाली! यी सत्त्वादि गुण, महत्तत्त्व, मन, देवता र मनुष्यहरू– सबै आदि र अन्त्य भएका (विनाशी) हुन्; त्यसैले यिनीहरूले तपाईंको वास्तविक स्वरूप जान्न सक्दैनन्। यो बुझेर बुद्धिमान् पुरुषहरूले केवल शब्दजालमा नअल्झिएर तपाईंको ध्यान गर्दछन् ।।४९।।
कर्म स्मृतिश्चरणयोः श्रवणं कथायाम् ।
संसेवया त्वयि विनेति षडङ्गया किं
भक्तिं जनः परमहंसगतौ लभेत ॥ ५० ॥
नेपाली भावानुवादः हे परम पूज्य! तपाईंको नमस्कार, स्तुति, कर्म–अर्पण, पूजा, चरण–स्मरण र कथा–श्रवण– यी छ प्रकारका भक्ति (षडङ्ग सेवा) नगरी मानिसले तपाईंको वास्तविक भक्ति प्राप्त गर्न सक्दैन ।।५०।।
एतावद् वर्णितगुणो भक्त्या भक्तेन निर्गुणः ।
प्रह्रादं प्रणतं प्रीतो यतमन्युरभाषत ॥ ५१ ॥
नेपाली भावानुवादः नारदजीले भन्नुभयो– यसरी भक्त प्रह्लादले भक्तिपूर्वक निर्गुण भगवान्को गुणगान गरेपछि भगवान् नृसिंहको क्रोध शान्त भयो र उहाँले आफ्नो अगाडि शिर निहुराएर बसेका प्रह्लादलाई प्रेमपूर्वक भन्नुभयो ।।५१।।
प्रह्राद भद्र भद्रं ते प्रीतोऽहं तेऽसुरोत्तम ।
वरं वृणीष्वाभिमतं कामपूरोऽस्म्यहं नृणाम् ॥ ५२ ॥
नेपाली भावानुवादः श्रीभगवान्ले भन्नुभयो– "हे श्रेष्ठ असुर प्रह्लाद! तिम्रो कल्याण होस्। म तिमीसँग अत्यन्त प्रसन्न छु। तिमीले जे चाहन्छौ, त्यही वर माग; किनकि म मानिसका सबै मनोकामना पूरा गर्ने गर्दछु" ।।५२।।
दृष्ट्वा मां न पुनर्जन्तुः आत्मानं तप्तुमर्हति ॥ ५३ ॥
नेपाली भावानुवादः हे आयुष्मान्! मलाई प्रसन्न नपारी मेरो दर्शन पाउनु अत्यन्त दुर्लभ छ; तर मेरो दर्शन पाइसकेपछि जीवले फेरि कहिल्यै कुनै प्रकारको दुःख वा ताप भोग्नु पर्दैन ।।५३।।
श्रेयस्कामा महाभाग सर्वासां आशिषां पतिम् ॥ ५४ ॥
नेपाली भावानुवादः हे महाभाग! म नै सबै प्रकारका आशीर्वाद र कल्याणको स्वामी भएकाले कल्याण चाहने धीर र साधु पुरुषहरू मलाई नै सबै भावले प्रसन्न पार्न प्रयत्न गर्दछन् ।।५४।।
श्रीनारद उवाच –
एवं प्रलोभ्यमानोऽपि वरैर्लोकप्रलोभनैः ।
एकान्तित्वाद् भगवति नैच्छत्तानसुरोत्तमः ॥ ५५ ॥
नेपाली भावानुवादः नारदजीले भन्नुभयो– भगवान्ले यसरी अनेक प्रलोभन देखाउँदा पनि भगवान्का अनन्य भक्त भएकाले ती असुर शिरोमणि प्रह्लादले कुनै पनि सांसरिक वरदानको इच्छा गरेनन् ।।५५।।
यस अध्यायको सारांश :
श्रीमद्भागवत महापुराणको सप्तम स्कन्ध अन्तर्गतको नवौँ अध्याय अत्यन्त मार्मिक र भक्तिरसले भरिएको छ। यस कथाको सुरुवातमा, हिरण्यकशिपुको वधपछि पनि भगवान् नृसिंहको उग्र क्रोध शान्त नभएको अवस्थालाई चित्रण गरिएको छ। भगवान्को त्यो प्रलयकारी स्वरूप देखेर ब्रह्मा, शङ्कर र अन्य देवताहरू समेत भयभीत भई नजिक जाने साहस गर्न सक्दैनन्। साक्षात् लक्ष्मीजी पनि आफ्नो स्वामीको यस्तो अपूर्व रूप देखेर डराउनुहुन्छ। अन्ततः ब्रह्माजीले प्रह्लादलाई अगाडि सारेर भगवान्लाई शान्त पार्न अनुरोध गर्नुहुन्छ। परम भक्त प्रह्लादले निडर भई भगवान्को चरणमा दण्डवत् गर्दछन्। बालक प्रह्लादको निश्चल भक्ति देखेर भगवान् कृपाले गद्गद हुनुहुन्छ र उनको शिरमा आफ्नो करकमल राख्नुहुन्छ। भगवान्को स्पर्शले प्रह्लादका सबै पाप नष्ट हुन्छन् र उनले स्तुति सुरु गर्दछन्। प्रह्लादले आफ्नो स्तुतिमा भन्छन् कि केवल विद्वत्ता, धन वा कुलले भगवान् प्रसन्न हुँदैनन्, उहाँ त केवल भक्तिले मात्र रिझाउन सकिने देव हुनुहुन्छ। उनले ब्राह्मणको अहङ्कारभन्दा भक्त चाण्डालको निष्ठालाई उच्च स्थान दिन्छन्। प्रह्लादले भगवान्लाई आफ्नो संसारी सुखको कुनै इच्छा नभएको बताउँछन्। उनले संसारलाई एउटा अन्धकारमय कुवा र इन्द्रियहरूलाई सौताहरूसँग तुलना गर्दै यसबाट मुक्त गरिदिन प्रार्थना गर्दछन्। उनले आफ्नो मात्र मुक्ति नचाहेर संसारमा भड्किरहेका अज्ञानी जीवहरूको कल्याणका लागि भगवान्सँग विन्ती गर्दछन्। प्रह्लादको स्तुतिमा ज्ञान, वैराग्य र शरणागतिको त्रिवेणी बगेको छ। भगवान् नृसिंह प्रह्लादको निस्वार्थ भक्ति देखेर प्रसन्न हुनुहुन्छ र उनलाई वर माग्न आग्रह गर्नुहुन्छ। प्रह्लादले कुनै सांसारिक सुख नमागेर केवल भक्तहरूको सङ्गत र दासत्वको माग गर्दछन्। यसरी यो कथाले शक्तिको अहङ्कारलाई भक्तिको नम्रताले जितेको देखाउँछ। अन्ततः भगवान्को क्रोध शान्त हुन्छ र सम्पूर्ण लोकले अभय प्राप्त गर्दछ। प्रह्लादको यो चरित्रले भक्तिको पराकाष्ठा र भगवान्को भक्तवत्सलतालाई उजागर गर्दछ।
यस अध्यायको दार्शनिक पक्ष :
यस अध्यायले अद्वैत र भक्ति दर्शनको गहिरो समन्वय प्रस्तुत गरेको छ। प्रह्लादको स्तुतिमा भगवान्लाई कार्य र कारण दुवैको रूपमा स्वीकार गरिएको छ, जसले ईश्वरको सर्वव्यापकतालाई पुष्टि गर्दछ। 'माया' लाई एउटा यस्तो शक्तिको रूपमा व्याख्या गरिएको छ जसले जीवलाई आफ्नो वास्तविक स्वरूप बिर्साएर संसारचक्रमा अल्झाउँछ। यस अध्यायका अनुसार मुक्ति केवल ज्ञानले मात्र होइन, बरु इन्द्रियहरूको निग्रह र पूर्ण शरणागतिबाट मात्र सम्भव छ। प्रह्लादको दर्शनमा व्यक्तिवादी मुक्तिभन्दा 'सर्वजन हिताय' अर्थात् परोपकारी भावनालाई श्रेष्ठ मानिएको छ। भगवान्को निर्गुण स्वरूप र सगुण अवतारका बीचको अभेद सम्बन्धलाई यहाँ प्रष्ट पारिएको छ। सांसारिक सुखलाई 'मृगतृष्णा' को रूपमा व्याख्या गर्दै वैराग्यको महत्त्व दर्शाइएको छ। सेवाभाव र परमहंसहरूको सङ्गतलाई मोक्षको मुख्यद्वार मानिएको छ। यसले के सन्देश दिन्छ भने ईश्वर जाति, वर्ण वा कुलको परिधिभन्दा बाहिर हुनुहुन्छ। अन्ततः यो अध्यायले भक्त र भगवान्का बीचमा कुनै द्वैत रहँदैन भन्ने परम सत्यलाई स्थापित गर्दछ।
No comments:
Post a Comment