भागवत व्यासाधिकारी
बर्तमान समयमा भागवत पुराण वाचन गर्दा यदाकदा हास्यास्पद तरीकाले भागवत धर्मको विपरीत गएर प्रवचन र गर्ने गरिएको कुरालाई नकार्न सकिदैन । आजकाल स्कूल कलेज, मन्दिर, अस्पताल बनाउन पर्यो भने भागवत लागाइन्छ । सबैले बुझेको कुारा के हो भने चन्दा संकलन गर्न भागवत बाट जति सजिलो छ, अरु कुनै पनि धार्मिक साधन बाट छैन । तर विडम्वना के छ भने यस्तो उद्येश्यले लगाइएको भागवतमा भागवतका कथा भन्दा गीत, नृत्य, तडक भडक लाई नै प्रार्थमिकता दिइएका पाइन्छ । कतिपयले त भागवतको मूल विषयलाई नै छाँटकाट गरी विषय भन्दा बाहिर गएर पनि कथा भनेको पाइन्छ । श्रीकृष्णको दार्शनिक तत्वलाई ओझेलमा राखेर कथा लम्ब्याउनु भागवत विपरित हुनजान्छ ।
भागवत कथा त यसरी सुरु होस कि जहाँ श्रोताले भक्ति पूर्वक भागवत श्रवणका लागि प्रार्थना गरुन । त्यसपछि वक्ताले श्रोताहरूको हृदयको उत्सुकता र जिज्ञासालाई राम्ररी चिनेर सम्बन्ध सुरु गरुन् । प्रारम्भ देखिनै भागवत भन्ने जुन प्रथा थियो, हामीले आज पनि त्यही प्रथा र विधि यथावत कायम राख्न सक्नुपर्दछ ।
पुराण भन्नेको योग्यता कस्तो हुनुपर्छ भनेर स्वयं भागवतले नैं तोकिदिएको छ । भागवत भन्ने व्यक्ति चारित्रिक दृष्टिले सबल हुनैपर्छ । पुराण लगाउने समय र पुराण अवधिभर गर्न हुने नहुने कुराको उल्लेख पनि यसैमा छ ।
वक्तामा धनलिप्सा वा प्रतिस्पर्धाको भावना हुनु हुदैन । यदाकदा भागवतका अधिकारीहरुले आफूलाई भागवत प्रवचनका योग्य अधिकारी सम्झेर जताततै गएर उपदेश गर्न थाल्छन् भने उनीहरूलाई भागवतोक्त धर्मको पालना गर्ने अधिकार हुन् भनेर भन्न सकिदैन ।
भागवत वक्ता वा श्रोता उपनित वा द्विज हुनुपर्छ भन्ने छैन र वक्ता वेदादि शाश्त्रका प्रवचनकर्ता हुनु पर्दछ भन्ने कुरा पनि होइन । भागवत शास्त्र वेद उपनिषदहरुको सार भएकोले भगवत्स्वरुप गुणलीलाको चिन्तनमा तत्पर हुनुपर्ने कुरा भने अनिवार्य छ । भागवतमा भनिएको छ कि–
तद्वाग्विसर्गो जनताघविप्लवो
यस्मिन् प्रतिश्लोकमबद्धवत्यपि ।
नामान्यनन्तस्य यशोऽङ्कितानि
यत्श्रृण्वन्ति गायन्ति गृणन्ति साधवः ॥ भागवत प्र.५
जसमा सुन्दर रचना पनि छैन र दुषित शव्दले युक्त भए तापनि भगवान्को शुयषका बारेमा वर्णन गरीएको प्रत्तेक श्लोकले सबै पाप नाश गरीदिन्छ । किनकि सन्त पुरुषहरू यस्तो वचनको श्रवण, गान र कीर्तन गर्दछन् ।
भक्तहरूको मुखबाट निस्कने वाणी, गीत, पद वा संस्कृत भाषामा गाइने स्तुतिहरुले मानिसका पापहरू नष्ट गर्छ । अनन्तकीर्ति भगवानको अनन्त नाम वक्ताहरूको मुखबाट जिज्ञासु श्रोताहरूको अगाडि सुनाइयो भने त्यस्ता वक्तालाई उत्तम वक्ता भनिन्छ ।
आजकाल धेरैजसो के देखिन्छ भने वक्ता कथा भनिरहने उपवक्ताले मनमनै पाठ गरिरहने चलन पनि छ । भागवतमा श्रोताले मुल पाठ राम्ररी पर्दछ । तर मनमनै पाठ गर्ने वक्ताले सार, स्वर लय, छन्द मिलाएर कसरी पाठ गर्न सक्छन् र श्रोतालाई सुनाउन नै सक्छन ? यस्ता कतिपय उपवक्ताहरुको स्वभाव त कस्तो पनि देखिन्छ भने आँखा चाँही किताव तिर तर घरीघरी वक्ताको कथा सुनेर डिच्च हाँस्ने, पाठै छाडेरा ट्वाल्ल श्रोतातिर हेर्ने अनि फेरी किताव तिर हेर्ने, हाई गर्ने हुई गर्ने गरेको पनि देख्न पाईन्छ । यसो गर्नु भन्दा त पहिला पाठ सुनाएर अनि कथा भन्नु राम्रो हुन्छ ।
जुन वक्ता र श्रोता दुवैको चित्त भगवान्मा तन्मय भएको छ भने उनलाई उत्तम वक्ता र उत्तम श्रोता मान्नुपर्दछ । विद्वानहरुले भागवतको वक्ता र श्रोता विच उण्डाईस भेद मानेका छन् । जुन तालिका बाटै बुझ्न सजिलो हुने हो तर तालिका राख्न फेसबुकमा सम्भव नहुने भएकोले संक्षेपमा बताइन्छ ।
वक्ता वा श्रोता
निर्गुण–सगुण
सगुणमा साधारण–असाधारण
साधारणमा सात्विक, राजस र तामस
असाधारणमा पनि सात्विक, राजस र तामस
सात्विक, राजस र तामस यि तीनैमा फेरी सात्विक, राजस र तामस
वर्गिकरण अनुसार पहिलो अधिकारीलाई उत्तम अधिकारी मानिएको छ भने त्यसपछिकालाई क्रमशः मध्यम र कनिष्ठ अधिकारी मानिएको छ । मध्यम अधिकारीमा अनुभवविहीन केवल शाब्दिक ज्ञान भएका लाई मानिन्छ भने केवल शाब्दिक ज्ञान भएको तर वैराग्य नभएकालाई कनिष्ठ अधिकारीको रुपमा मानिन्छ ।
यहाँ उत्तम वक्ता भन्नाले यस्तो वक्ता मानिन्छ जुन सामान्य नहर जस्तै हुन्छ । किनभने नहरमा जुन जल बग्दछ त्यो जल नहरको आफ्नै जल होइन, त्यो जल त ठुला ठुला सागर–सरोवरसंग जोडिएको हुन्छ । त्यसैगरी भागवत सुनाउने उत्तम वक्ताको भाव स्वयं आफ्नो नभएर केवल भगवान्को लीलामा जोडिएको हुन्छ । मन भगवान्मा तन्मय भएको हुन्छ हो त्यस्तो वक्ताको कथामा उल्लासमय हुन्छ । यथार्थमा भन्नुपर्दा सनत्कुमारलाई उपदेश दिने संकर्षण शेष, आफ्ना आत्मज शुकदेवलाई भागवत पढाउने महर्षि व्यास, रहुगण राजालाई ज्ञानोपदेश दिलाउने अवधूत जडभरत, भक्तिशास्त्रका उपदेशक नारद, सनत्कुमारका शिष्य तथा विदुरका गुरु मैत्रेय र स्वयं शुकदेवजी भागवतका उत्तम अधिकारी हुन् । जसरी वहाँहरुलाई भागवतका उत्तम अधिकारी भनिन्छ, उनै उत्तम अधिकारीको सामन्य गुणको अंश मात्रै भएपनि जसमा हुन्छ, कलियुगमा उनैलाई उत्तम अधिकारी मानिन्छ ।
यस्ता अधिकारीमा स्वभावैले कुनैपनि अहंभाव हुदैन, धनको लिप्सा हुदैन उनीहरुले सदा सर्वदा प्रमाण र प्रमेयको पक्षलाई आधार लिएर वाचन गरिरहेका हुन्छन् । यस्ता अधिकारीमा श्रोताको भिड भाड भन्दा पनि आफुले दिएको भागवत उपदेशबाट एक जना भए पनि मुक्त हुन सकुन भन्ने भावना हुन्छ । भागवत हेर्दा यही नै कुरा थाहा पाउन सकिन्छ जस्तो शुकदेवको उपदेश पाएर परीक्षित, मैत्रेयको उपदेश पाएर विदुर, कपिलदेवजीको उपदेश पाएर देवहुति, जडभरतको उपदेश पाएर राजा रहुगण, एक्लै एक्लै नै मुक्त भएका थिए त्यसैले उत्तम वक्ताले मूल यजमानको भावना बुझेर पाठ कथा आदि सबै बिधि पुरा गराउने तिर लाग्दछन् ।