#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

श्रीमद्भागवत महापुरण

वेदब्यासजीले १७ पुराणको रचना गरिसकेपछि भागवत पुराणको रचना गर्नुभयो । श्रीमद्भागवत पुराणको महिमाको बारेमा संस्कृत साहित्यमा जति वर्णन गरिएको छ त्यति मात्रामा अरु पुराणहरुको वर्णन गरिएको पाँईदैन । श्रीमद्भागवत ब्रह्मसूत्रको अर्थ बताउने भाष्य हो । वैष्णवको कण्ठहार हो । ‘श्रुत्यर्थस्तु पदे पदे’ यसको पदपदमा श्रुतिको अर्थ छ त्यसैले यसलाई अकृतिम भाष्य भनिन्छ । यसमा वेद, उपनिषद एवं ब्रह्मसूत्रका भाषाहरु अनेक प्रकारले प्रष्ट्याइएको पाँइन्छ ।

वैदिक शास्त्रका ग्रन्थहरुमा ब्रह्मण, क्षेत्रिय र वैश्यलाई नै यज्ञको अधिकार थियो तर भागवतकालमा आएर सर्वमान्य एवं सामाञ्ज्यस्य प्रणालीको प्रचलन भएको पाइन्छ । भागवत पुराण र पद्मपुराणमा यदि वैष्णव छन् भने पुल्कस र चण्डाल पनि श्रेष्ठ हुन्छन भनि बताइएको छ । (भागवत ७,८,१०)


अहोवतश्वपचो गरियान् यज्जिह्वाग्रे वसते नाम तुभ्यम् । –भागवत) 


त्यसैले भागवत मुर्तिमान रस हो, मुर्तिमान कृष्ण विग्रह हो र सम्पूर्ण वेदको सार तथा पुराणमा सर्वश्रेष्ठ पुराण भागवत पुराण हो । 

भागवत ज्ञान भक्ति र वैराज्ञको आविस्कार हो । भागवतको आविस्कारको क्षेत्र स्वयं भगवान्को मुख कमल एवं ब्रह्मा, नारद, ब्यास, शुक, सूत आदि महानुभावको हृदयको रुप हो । 

भागवतमा षट्संवाद एउटा महत्वपूर्ण विषय हो । समस्त भागवत यसैको उत्तरमा निहित छ । नैमिषरण्यको दीर्घसत्रमा महामुनि शौनकले सूतजी संग यही प्रश्न गरेका थिए ।

 

भागवतावाद

भागवतमा ब्रह्मवाद र परमात्मवादको विषयमा धेरै ठाँउमा वर्णन गरिएको छ । तर त्यो भन्दा बढि भागवतावादको विशिष्ट वर्णन पाइन्छ । यसरी सबै विषयलाई केलाउँदा यो थाहा हुन आउँछ कि भक्त र भगवान्को विविध लीला विलाशको नाम नै भागवत हो । 

संस्कृत साहित्यमा वेद, उपनिषद र पुराणरुपी त्रिवेणीमा पुराण कै अग्रता एवं श्रेष्ठता छ भने अष्टादश पुराणको पुञ्जको रुपमा श्रीमद्भागवतलाई नै महापुराणको विशेषण प्राप्त छ । त्यसैले भागवतको एक एक श्लोकको अध्ययन, मनन तथा भजन बाट परमात्मा प्रति अनुराग र संसार प्रति वैराज्ञको जागृति भएर ब्रह्मानुभूतिको अवस्था स्वतः प्राप्त हुन्छ । 

महर्षि वेद ब्यासजीले जीवन–जगत, ईश्वर एवं मोक्षको विषयमा दार्शनिक दृष्टिले उद्घाटित गराइदिनु भएको छ । त्यसैले श्रीमद्भागवत दार्शनिकहरुका लागि चिन्तनको सागर हो, साहित्यकारका लागि रस सिन्धु हो, इतिहासकारका लागि मूल तथ्यको अन्वेषणको साधन हो, भूविविष्णेषका लागि कौतुहलको माध्यम हो, यसैगरी विद्वानका लागि परीक्षाको कसौटी हो भने जिज्ञासुका लागि गुप्त रहस्य प्रकट गराउने अध्यात्मदीप हो र अन्तःकरण शूध्दिका लागि तत्व वस्तु निरुपणको साधन हो । त्यसैले भनिएको छ ‘विद्यावतां भागवते परीक्षा’


श्रीमद भागवत पुराणको उदयलाई ईश्वरीय चमत्कार मान्नु पर्छ। भगवानको अवतार अर्थात् वाड्मयको नाम भागवत हो । सायद यसैले भागवत पुराणलाई ‘ब्रह्मसम्मित’, ‘इद भागवत नाम पुराणं ब्रह्मसम्मितम्’ भनिएको हो । यस श्लोकमा ‘ब्रह्म सम्मितम्’ को अर्थ श्रीमद्भागवतको विषयवस्तु अनुसार परब्रह्मको रूपमा मात्र मान्न सकिन्छ, किनभने भागवताकारले यस ग्रन्थलाई निगमको रूपमा कल्पतरुको फल वा सारको रूपमा वर्णन गरेका छन्। 

स्कन्द पुराणको दोश्रो वैष्णवखंण्डान्तर्गत श्रीमद्भागवत महात्म्यको चौथो अध्यायमा यस भावनालाई यसरी स्पष्ट गरिएको छ –


श्रीमद्भागवतस्याथ श्रीमद्भागवत सदा ।

स्वरूपमेकमेवास्ती सच्चिदानन्दलक्षणम् ।।


अर्थात् श्रीमद्भागवतको सच्चिदानन्द लक्षण नै एउटा वास्तविक स्वरुप हो । महर्षि शुकदेवजीले यो परब्रह्म स्वरूप अमृतमय, रसमय र स्वादिष्ट बनाउनुभएको छ । त्यसैले धर्मको रसात्मक अनुभूति जति यस ग्रन्थबाट सम्भव छ, त्यति अन्य कुनै माध्यमबाट छैन । अनुभूति व्यक्तिगत विषय हो, यसलाई सामूहिक वा सामाजिक रूप दिनु कठिन कार्य हो । महर्षि वेद व्यासले यस महाकाव्यको रचना गरेर यो कठिन र गम्भीर कार्य पूरा गरे। यस विषयको गम्भीरताको अनुमान ‘विद्यावतां भागवते परिक्षा’ बाट गर्न सकिन्छ ।  

आध्यात्मिक जगतमा जुन ब्रह्म र जीवको सम्बन्ध छ,  भौतिक जगतमा ज्ञान र विज्ञानको जुन सम्बन्ध छ, त्यस्तै सम्बन्ध भागवत पुराणमा धर्म र भक्तिको छ । 

श्रीमद्भागवत सम्पूर्ण संस्कृत वाङ्मयका सर्वोत्कृष्ट अनमोल ग्रन्थ रत्न हो यसैले भूतलका मानवको कल्याणको लागि नै यसको आविर्भाव भएको हो । 

 

त्वत्कथामृतपायोधौ विहरन्तो महामुदः।

कुर्वन्ति कृतिना केच्चिचतुर्वर्ग त्रिणोपमम् ।। 


अर्थात् हरिकथा आफैमा यस्तो अमृत हो जो स्वर्गामृत र मोक्षामृतभन्दा पनि श्रेष्ठ छ । भक्तहरूले यस परम आनन्दको सागरमा स्वतन्त्र रूपमा वास गर्दा यी चार कुराहरू धर्म, अर्थ, काम र मोक्षलाई तुच्छ ठान्छन् । भक्त प्रल्हाद भगवान नरसिंहलाई यस्तै भाव प्रकट गर्दछन्– ‘तपाईको लीलाकथा अमृतलाई पनि तुच्छ गर्ने परम रूप हो । महाराज पृथु भन्छन्– ‘मेरो एउटै बिन्ती छ कि मलाई दस हजार कान दिनुहोस्, जसबाट म तपाईंको लीला गुण सुन्न सकूँ, महाराज परीक्षितको भनाइ पनि त्यस्तै छ ‘मैले पानी पनि त्यागि सकें तैपनि, त्यो असह्य भोक र तिर्खा (जसको कारणले गर्दा ऋषिको घाँटीमा मरेको सर्प राखेर मैले अन्याय गरेको थिएँ) मलाई पटक्कै सताउँदैन, किनकि म तपाईको मुख–कमलबाट सुधामयी अमृत कथा पान गरिरहेको छु । 


यसरी सबै कुराहरुको विश्लेषणबाछ के कुरा बुझ्न सकिन्छ भने श्रीमद्भागवत महापुराण भगवान्को साक्षात विग्रह तथा अलौकिक प्रसाद हो । संस्कृत वाङ्मयको सर्वोत्कृष्ट परिणति हो । यो भगवान्को साक्षात स्वरुप हो । भगवद्भक्त उध्दवको विशेष आग्रहमा भगवान् स्वयं भागवतमा प्रवेश गरेर यसमा विशेष तेज समाहित गर्नुभयो । 


तेनेयं वांङमयी मूर्ति 

स्वकियं यद् भवत्तेजो तच्च भागवतेऽदधत् ।।


तथा वाङ्मय मुर्ति धारण गरेर नै वहाँ भागवतमा आर्विभूत हुनुभयो । त्यसैले समर्पण एवं भावको दृष्टिले यो साक्षात भगवान्को दर्शनरुप हो ।

 

भागवत घटना, उपदेश, स्तुति, र गीत यी चार रुपमा चार वेद समान महत्वपूर्ण छ । यो वेद एवं सम्पूर्ण शास्त्रको रसमय फल हो ।

निगमकल्पतर्रोगलितं फलम् ।

भागवत अध्यात्मदीप हो । भगवान् को प्रकाश हो । भगवान्को प्रकाशक स्वयं भगवान् नै हुनुहुन्छ । वहाँ स्वयं ‘स्वराट” आफ्नो महिमाको प्रकाश गर्नु हुन्छ । 

भागवत्को ठाँउठाउमा अध्यात्मदीपमतितितीर्षताम् तमोन्धम्।१।२।३  भनेर अध्यात्मदीपको संज्ञा दिइएको छ । 


त्यसैले भागवत श्रवण एवं ग्रहण गर्दा वक्ता र श्रोता दुवै भगवद्रुप हुनेछन् । भगवान्को करुणा नै वक्ताको आविर्भावको कारण हो । यसैले स्वयं नारायणले यसलाई प्रकाशन गरेर वक्ताको रुपमा पनि कारुणभावले यस महान तत्वलाई प्रकाशित गर्नु भएको छ । 


इदं भागवता पूर्वं ब्रह्मणे नाभिपङ्कजे । 

स्थिताय भवभीताय कारुण्यात् सम्प्रकाशितम् ।।१२।१३।१०


कस्मै येन विभासितोऽयमतुलो ज्ञानप्रदिपः पुरा ।

तद्रुपेण च नारदाय मुनये कृष्णाय तद्रुपिणा ।

गोगिन्द्राय तदात्मनाथ भगवद्राताय कारुण्यत–

स्तच्छुध्दं विमलं विशोकममृतं सत्यं परं धिमहि ।।


अर्थात श्रीमद्भागवत भगवत‘तत्व’को सर्वश्रेष्ठ प्रकाशक हो । यो सर्वप्रथम करुणवश भगवानद्वारा करुणापत्र ब्रह्मालाई, त्यसैगरी ब्रह्माबाट नारदलाई, नारदबाट महर्षि वेदव्यासलाई र स्वयं व्यासरुपले महर्षि शुकदेवलाई त्यसरी नै शुकदेवजीले परीक्षितलाई दिनुभयो । उत्तरोत्तर सबैमा प्रवचनको प्रवृत्ति हो । कथं ? केवलम्– “कारुण्यतः” तथा “कारुण्यकस्य” सबैमा करुणावश भइरहेको । यसको समस्तमा यो हो कि हृदय अथवा चित्तमा जवसम्म प्रेम स्नेह र करुणाको उदय हुदैन । तवसम्म रहस्य प्रकाशित हुन कठिन छ । सम्भव छैन । करुणाका सागर स्वयं श्रीहरि नै हुनुहुन्छ । त्यसैले भगवान्को प्रतिपादक हुनाको कारण यसलाई भागवत भनिएको हो ।  । 

त्यसैले भागवतको महिमाको  बारेमा सबैजनाले सजिलै संग पढ्न बुझ्न सकुन भन्ने उद्देश्यले  श्रीमद्भागवत महापुराणको मूल संस्कृत श्लोक सहित नेपाली भावानुवाद यहाँ प्रकाशन गरिएको छ । फुर्सतको समयमा अध्ययन गरि आध्यात्मिक लाभ प्राप्त गर्नुहुन  ।

श्रीमद्भागवत महापुराण