श्रीमद्भागवत महापुराण
षष्ट स्कन्धः संक्षिप्त कथा
नरकको वर्णन र त्यसमा परेकाहरूको अधोगतिको वर्णन सुनेर परीक्षितले शुकदेवलाई नर्क जानु नपर्ने उपायको बारेमा जान्न आग्रह गरे । यसका लागि उत्तम उपाय भनेको भगवान् को भक्ति मात्र हो र यस सम्बन्धमा विष्णु र यमदूतको सम्वाद र अजमिलको कथा सुनाए । विष्णु–दूतहरूले भागवत धर्मको प्रतिनिधित्व गरे । यमराजले आफ्ना दुतहरुलाई विष्णु भक्तहरूलाई नर्क वा यमलोकमा ल्याउन निषेध भएको कुरा बताए । राजा परीक्षितले स्वयम्भू मन्वंतरमा संक्षिप्त रूपमा वर्णन गरिएको ब्रह्माण्डको विस्तृत विवरण शुकदेवजीबाट सुन्ने चाहना गरे । यस प्रश्नको उत्तर दिदै शुकदेवजीले बताउनुभयो कि जब प्रचेताहरु समुद्रबाट बाहिर आए त्यतिबेला उनीहरूले सारा पृथ्वी रुखहरुले भरिएको देखे । प्रचेताहरुले सोमाको आदेशले प्रम्लोचा नामकी कन्यासँग विवाह गरे । उनका छोरा दक्ष प्रजापतिले सृष्टि गर्नुभयो, तर सृष्टि अगाडि बढ्न सकेन त्यसपछि उनीहरुले ’हंसगुह्य’ नामक स्तोत्रद्वारा भगवानको स्तुति गरे । भगवानले उनीहरूलाई भन्नुभयो कि वैवाहिक विवाहले मात्र मानिसहरूको सृष्टि हुन सक्छ । दक्षले आफ्ना छोराहरू ‘हर्यश्व’ र ‘शवलाश्व’ लाई सृष्टिको आदेश दिए तर नारदको शिक्षाबाट तिनीहरू अन्र्मुखी भए । यो थाहा पाएर दक्षले नारदलाई श्राप दिए । त्यसपछि दक्षाले ६० कन्या उत्पन्न गरे जसको सन्ततिले सारा लोक भरिएको छ ।
एक पटक इन्द्रले आफ्ना देवगुरु बृहस्पतिको अपमान गरे जसका कारण गुरुले उनलाई त्यागे । जसले गर्दा देवताहरु ऐश्वर्य भ्रष्ट ९तेजहीन० भए । उनले त्वष्टका छोरा विश्वरूपलाई आफ्नो पुरोहित बनाए । विश्वरूपले ’नारायण कवच’को ज्ञानद्वारा देवताहरूको पहिलाको वैभव पुनः प्राप्त गराए । तर विश्वरूपले गोप्य रूपमा असुरहरूको पक्षलाई समर्थन गरेका थिए । त्यसैले इन्द्रले विश्वरूपको बध गरिदिए । विश्वरुपका पिताले इन्द्रलाई मार्ने सत्रुको प्रकट गराउनको लागि यज्ञ गरे जसबाट वृत्रासुरको जन्म भयो । ऋषि दधिचीको हड्डीबाट बनेको वज्रले वृत्रको मृत्यु भएको थियो । इन्द्र फेरि ब्रह्महत्या लागेका कारण एक हजार वर्षसम्म मानसरोवरमा बसे । त्यतिन्जेल नहुषले स्वर्गमा शासन गरे । इन्द्र अश्वमेधद्वारा ब्रह्माहत्याबाट मुक्त भए । वृत्रासुर विगतमा चित्रकेतु राजा थिए र अत्यन्त भगवत्परायण पनि थिए, पार्वतीको श्रापले राक्षसी योनि प्राप्त भयो र उनै वृत्रासुर भएर जन्मिएका हुन् । त्यसपछि शुकदेवजीले अदिति र दितिको सन्तानको उत्पत्ति र मरुद्गणको बारेमा बताउनुभयो र कश्यपले दितिलाई पुंसवन व्रतको विधि बताउनुभयो ।