भागवत महापुराण पञ्चमस्कन्धको संक्षिप्त कथा
मैत्रेयबाट यति धेरै कथा सुनेर विदुर आफ्ना जातिय मित्रहरूलाई भेट्न हस्तिनापुर गए । शुकदेवजीले परीक्षितलाई मनुका दोस्रो पुत्र प्रियव्रतको चरित्र सुनाए, पृयव्रत अखण्ड पृथ्वीका एक मात्र सम्राट थिए । उनको रथको पांग्राबाट सात महासागर बनेर पृथ्वीलाई सातवटा द्वीपमा विभाजन गरियो । प्रियव्रतले आफ्ना सात छोराहरूलाई प्रत्येक द्वीपको राजा बनाए । प्रियव्रतका जेठा छोरा आग्निध्र जम्बु द्वीपका राजा थिए । उनका नाभि आदि नौ छोरा थिए, जो जम्बुद्वीपका नौ वर्षका राजा भए । भगवानले नाभिबाट पुत्रको रुपमा ‘ऋषभावतार’ लिनुभयो । ऋषभदेव पछि छोराहरूलाई राज्य सुम्पेर ‘अवधूत’ बनेका थिए । उनले आफ्ना छोराहरूलाई भगवद् उपदेश दिए । जेठा छोरा भरतलाई राज्य दिएर उनी भगवद् स्वरूपमा लीन भए । भरत भगवानका परम भक्त थिए । मृगको बच्चाको मोहले मृगयोनी प्राप्त भयो । त्यसपछि उनी ब्राह्मण कुलमा जन्म लिए पछि विरक्त भएर ‘जड भारत’ बने । उनको सिन्धु शौवीर देशका राजा रहूगणसंग भेट भयो जडभरतले रहूगणलाई आध्यात्मिक उपदेश दिए । जड भरतले यस संसारलाई डरलाग्दो बन (भवाटवी) को रूपक दिएर व्याख्या गरे ।
भरतको वंशमा ‘गय’ र ‘विरज’ नामका अति प्रतापी सार्वभौम राजाहरू भए । राजा परीक्षितले शुकदेवसंग प्रियव्रतको रथको पांग्राले बनेको सप्तसागर र टापुहरूको परिमाणको बारेमा सोधे । त्यसपछि शुकदेवजीले समस्त भुवनकोशको वर्णन गर्नुभयो । विष्णुपदी (गगा) को वर्णन गर्दै शुकदेवजीले शंकरद्वारा रचिएको संकर्षणको स्तुति सुनाए । विभिन्न वर्षको वर्णन गर्दै शुकदेवजीले बताउनुभयो कि त्यहाँका शासक र बासिन्दाहरूले भगवानको विभिन्न रूपहरूको पूजा गर्छन् भन्ने बारेमा पनि बताउँनु भयो । भद्राश्वखण्डमा भद्रश्रवागण भगवान्को हयग्रीव मूर्तिको, हरिवर्षका निवासीहरु नृसिंहको रूपमा, केतुमलखण्डमा कामदेव रुपको, रम्यक खण्डमा मत्स्य रूपको हिरण्मय खण्डमा कुर्मको रूपको, उत्तर कुरु वर्षमा वराह रूपमा, किम्पुरुष वर्षमा सीतापति रामको रूपको र भारत वर्षमामा नर–नारायण स्वरूपको ध्यान र पूजा गर्छन् । त्यसपछि प्लक्ष, शाल्मली आदि द्विपहरूको प्रमाण, लक्षण, अवस्था र स्थानीय हिमालहरूको वर्णन गर्नुभयो । त्यसैगरी सूर्यको रथ र गति, विभिन्न ग्रहहरूको स्थिति र गति, शिशुमार चक्र आदि ज्योतिष्पिण्डको वर्णन गरिएको छ । त्यसपछि तल्लो सात लोकहरू जस्तै अतल, वितल आदिको वर्णन गरिएको छ । तल पाताललोकमा अनन्त नामकको तामसी नित्य कला छ । यही संकर्षण हो । नारदले उनको प्रशंसा गर्छन्, स्तुति गर्दछन् । सबभन्दा अन्त्यमा तामिश्र, अन्धातमिश्र, रौरव, कुम्भीपाक आदि अठ्ठाईस नरकहरू र त्यसमा परेका मानिसहरूको गतिको वर्णन छ ।